काठमाडौं, २४ जेठ । आम जनता पार्टी (आजपा) ले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष गर्ने निष्कर्ष निकालेको छ । खानेपानीका लागि आजपाले आन्दोलनसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्षसहित आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको हो ।
बैठकमा संघका पदाधिकारी एवं अगुवा नेताहरुले बर्षौदेखी सरकारले खानेपानी उपलब्ध नगराउँदा समस्या भएको र त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउनुपर्ने बताए । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले २१औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नहुनु र सरकारले रोक्नु भनेको मानवताविरोधको अपराध भएको बताए । सुकुम्बासी बस्तीमा रहेका नागरिकसंग सरकारले कर लिने, मत लिने तर शुद्ध खानेपानी नदिने बिषय आफूलाई र सिंगो पार्टीको लागि पनि स्विकार्य नभएकोले तत्काल संघर्षमा होमिएको बताए ।
‘सुकुम्बासी बस्तीमा जसरी पनि शुद्ध खानेपानी सरकारले पुर्याउनुपर्छ । यदी सरकारले शुद्ध खानेपानी नदिए हामीले जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुनुपर्छ,’ अध्यक्ष साहले भने, ‘२१औँ शताब्दीमा कुनै पनि नागरिकलाई खानेपानीबाट रोक्नु भनेको मावता विरोध अपराध हो । हामी आन्दोलनका लागि तयारी अवस्थामा रहनुपर्छ ।’
बैठकले सुकुम्बासी बस्तीमा खानेपानीको मागसहित खानेपानी संस्थानमा २६ जेठमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । एक हप्तामा माग सम्बोधन नभए २ असारमा गाग्री थापेर पानी माग्ने, ३ असार देखी गाग्री थापेर पानी माग्दै प्रदर्शन गर्ने गर्ने, पानी उपलब्ध नगराए तालाबन्दी, खानेपानी वितरण अवरुद्ध गर्ने लगायतका कार्यक्रम रहेको छ ।
बैठकले ‘खानेपानीका लागि संघर्ष समिति, सुकुम्बासी बस्ती, काठमाडौं’ समेत गठन गरेको छ । सुकुम्बासी बस्तीमा खानेपानीका लागि गठन भएको संघर्ष समितिको इन्चार्जमा आजपा सहअध्यक्ष तिलक थापामगर, सहअध्यक्षमा देवी पण्डित, संयोजकमा कालबहादुर विक, सह–संयोजकमा उपेन्द्र साह, प्रवक्तामा रञ्जुकुमारी साह र सदस्यहरुमा उपत्यका कमिटीका सदस्य एवं संघका सदस्यहरु रहेका छन् ।
आजपा काठमाडौं उपत्यकाविशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विक लगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया