काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले पतञ्जली योगपीठको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संलग्नता छैन होला भनेर अनुमान गर्न नसकिने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो भान्जा बैंकको सिईओ भएको बेलामा प्रधानमन्त्री नेपालले पतञ्जली योगपीठको जग्गामा चलखेल गरेको दाबी गरेका हुन् । तत्कालीन अवस्थामा पतञ्जीमा चलखेल गरेको पैसा माधवले पार्टी कब्जा गर्न प्रयोग गरेको पनि उनले आरोप लगाए ।
‘उहाँ अहिले हामीलाई एमालेले फसायो, ओलीले षड्यन्त्र गर्यो भन्नुहुन्छ । तर य ले बी लाई जग्गा बेच्यो भने पास गर्ने मालपोत कार्यालय छ । माधव नेपाल किन तानिनुभयो त ? उहाँको भान्जा हुनुहुन्छ, त्यो बैंकको सीईओ । त्यो पैसा ल्याएर पार्टी कब्जा गर्ने कुरामा प्रयोग गर्नुभएको थियो । त्यो कुरा साँचो हो । जसले प्रधानमन्त्री बनाइदिने पार्टी फोर्न त लाज मानेनन् भने गरेनन् होला त ?’ प्रश्न गर्दै उनले भने ।
अहिले माधव नेपाललगायतले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले षड्यन्त्र गरेर फसाएको भनी भ्रम छरिरहेको पनि उनले बताए । नेता शाहीले अदालत एमाले र ओलीविरोधी रहेको दाबी गरे । ओलीविरोधी अदालत भएको बेलामा नै सफाइ लिन एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सुझावसमेत दिए ।
‘अझ पनि उहाँलाई भारी छुट छ । अदालत त ओलीविरोधी छ । उहाँले ‘क’ भने ‘ज्ञ’ भन्छ । मनमोहनको सरकार ढालेकै हो अदालतले ओलीको सरकार ढालेकै हो । सफाइ पाएर आए भइहाल्यो नि त । किन रुवाबासी ?’ प्रश्न गर्दै उनले भने ।
साथै, भोलिको सदन खुल्ने वा नखुल्ने भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातमा रहेको पनि उनले बताए । नेता शाहीले माओवादीमा रुपान्तर भएपछि र उसले लोकतन्त्रमा भविष्य देखेपछिमात्रै देशले सुख पाउने बताए । आफू र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई धेरैले माओवादी विरोधीको भाष्य बनाउन खोजेको उनले बताए । ओलीको बटमलाइन माओवादीलाई पनि कांग्रेस–एमालेकै हैसियतमा पुर्याउने रहेको उनले बताए । माओवादी कांग्रेस–एमालेकै स्तरमा आउँदाखेरी देश बन्ने उनले दाबी गरे ।
‘सदन खुल्नेमात्रै होइन देश खुल्ने कुरा प्रचण्डमा निर्भर छ । प्रचण्डको २०७२ सालमा आएको बुद्धि २०६४ मै आएको भए पहिलो संविधानसभा फेल खाने थिएन । एमालेमा ओलीधारका मान्छेलाई माओवादी विरोधी भन्छन् । तर, के छ भने प्रचण्डलाई, माओवादीलाई एमाले र कांग्रेसको स्तरमा ल्यायो भने देश बन्छ । जब उहाँ हलो अड्काएजस्तो गर्नुहुन्छ, कहिलेकाँही नहिँड्ने गोरूको जस्तो जिद्धी गर्नुहुन्छ । अनि देशले दुःख पाउँछ । माओवादी सुध्रिनुमा देशको भविष्य निर्भर छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको बटमलाइन हो,’– उनले भने ।
साथै, वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको उनले बताए । स्वर्णिम वाग्लेजस्ता भगौडा र माधव नेपालजस्ता अवसरवादीहरुले एमाले–कांग्रेससहितको गठबन्धन बनेको उनले बताए । उनले माओवादीलाई प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुनसमेत सुझाव दिए ।
नेता शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने बताए । ‘भिजिट भिसा प्रकरणमा उहाँले कसैलाई खटाएको अडिओ, भिडिओ, हस्ताक्षर, औंठाछाप, तीनपुस्ते नआउँदासम्म रमेश लेखकलाई पेल्न हुँदैन,’– उनले भने ।




प्रतिक्रिया