काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले वर्तमान सत्ता गठबन्धन २०८४ सम्म अगाडि जाने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रसाईलीले कुनै पार्टीलाई सत्ताको मोह भयो भन्दैमा कांग्रेस–एमालेको गठबन्धन नटुट्ने बताएका हुन् । नेकपा (माओवादी केन्द्र) र पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फलक्षित गर्दै उनले सत्तामा आउने इच्छा हो भने प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गर्न आग्रह गरे । कांग्रेस–एमालेसहितको गठबन्धनभने तलमाथि नहुने उनको दाबी छ ।
‘यो गठबन्धन विशिष्ट अवस्थामा बनेको हो । यो गठबन्धन २०८४ सम्म जान्छ । कुनै पार्टीलाई सत्ताको मोह भयो भने दुईवटा पार्टीका नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग कुरा गरेर सत्तामा आउँदा हुन्छ । प्रतिपक्षमा बस्न नसक्ने रोग लागेको छ भने, नभए यो गठबन्धन नेपाली जनताकै चाहनाअनुसार, साना–साना किराना पसलहरुले ठूला पार्टीको गर्धनमा बन्दुक राखेर फड्काउन थाले । प्रधानमन्त्री राम्रोसँग बालुवाटारमा सुत्न पाउनुभएन । कम्तिमा आजको प्रधानमन्त्री बालुवाटार आनन्दसँग सु्तेर देशको पक्षमा काम गर्न पाउने हुनुभयो नि त । गठबन्धनको विषयमा कसैले शंका नगरे हुन्छ,’– उनले भने ।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने बताए । भिजिट भिसा प्रकरण लेखक गृहमन्त्री भएपछि मात्रै सुरु नभएको उनले बताए । यसको इतिहास २५ वर्ष पुरानो रहेको पनि उनले बताए । नेता रसाईलीले गृहमन्त्री लेखकको राजीनामा भन्दा पनि अध्यागमनलाई कसरी व्यवस्थित गर्ने भन्नेतिर ध्यान दिन आवश्यक रहेको बताए । भिजिट भिसा प्रकरणमा छानविन समितिसमेत नबन्ने उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले सो विषयमा छानविन गरिरहेको बताउँदै उनले त्यसबाट गृहमन्त्रीको संलग्नता देखियो भने कारबाहीको भागिदार बनाउने बताए । रमेश लेखकको बारेमा अहिलेसम्म काहीँकतै उजुरी नरहेको र उनको संलग्नता पनि नदेखिएको धारणा व्यक्त गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको प्रत्यक्ष संलग्नता छैन भन्ने कुरामा प्रतिपक्षी दलहरुमा सहमति बनिसकेको पनि उनले बताए । ‘अहिले गृहमन्त्रीको प्रत्यक्ष संलग्नता छैन भन्ने करिब–करिब सम्झौता भएको कुरा त आयो । नखाएको विष कसैलाई पनि लाग्दैन,’– नेता रसाईलीले भने ।
साथै, माधव नेपालविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दा अब अदालतको विषय बनेको र आफूले काल्पनिक कुरा नगर्ने बताए । ‘माधव नेपाल सम्मानित नेता हो । अरु प्रधानमन्त्रीभन्दा कम विवादमा जोडिएको व्यक्ति पनि हो । तर, यो विषयमा म के भन्छु भने एउटा संवैधानिक निकायले उहाँको बारेमा विशेषगरी मुद्दा दायर गरिसकेपछि सम्मानित ढंगले अदालतले मुद्दा हुर्नुपर्छ । एकीकृत समाजवादीले पनि कुर्नुपर्छ । अब काल्पनिक कुरा गरेर केही छैन,’– उनले भने ।
त्यसैगरी, प्रतिपक्षी दलहरुले विनाकारण निरन्तर संसद् अवरुद्ध गरेको उनले बताए । संसद् खुला गरेर आ–आफ्नो कुरा राखेर अगाडि जान उनले आग्रह गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा नआउने, राजीनामा दिन नदिने र दिन पनि नहुने उनले बताए ।




प्रतिक्रिया