गृहमन्त्रीले राजीनामा दिनुपर्ने आवश्यकत्ता देख्दिनँ : नारायण खड्का (भिडिओसहित)


काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले गृहमन्त्री रमेश लेखकलाई अत्यन्तै राम्रो र निश्कलंक छवि भएको नेताको रूपमा चित्रण गरेका छन् ।

उनले भने,‘उहाँ कानूनी कुरा राम्रोसँग अध्ययन गर्ने नेतापनि भएको हुनाले भ्रष्टाचार गरेको भन्ने कुरा गलत हो, मैले उहाँलाई लामो समयदेखि चिन्दछु । कर्मचारीले गल्ती गरेको छ भन्दैमा माथिल्लो तहमा मन्त्रीले नै राजीनामा दिनुपर्छ भन्ने कुरा नगरौं । छानबिनमा उजुरी जाहेरी केही पनि छैन् । प्रतिशोधजस्तो कुरा गरेर हुँदैन् ।’

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आवश्यकत्ता आफूले नदेखेको स्पष्ट पारे ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका सांसद खड्काले भारत र नेपालबीचको सम्बन्धमा उतारचढाव नभएको र यथास्थितिमा नै सम्बन्ध रहेको टिप्पणी गरे । उनले भने,‘भारतले विश्वास नगरेको छैन्, सम्बन्धहरु यथास्थितिमै छन्, धेरै उतारचढाव भएको पनि मैले देख्दिनँ । भ्रमण किन भएन भनेर भन्नुहुँदैन् । भ्रमण त आवश्यकत्ताले हुने कुरा हो ।’ दुई देशबीचको सम्बन्धमा धेरै ठूलो अविश्वस नदेखिएको उनको भनाई छ । तर, उच्चस्तरीय भेटघाट र सम्वाद भने जारी राख्नुपर्ने उनको सुझाव छ ।