सरकार बिग्रियोस वा भत्कियोस भनेर जतिसुकै धुप बालेपनि यो सरकारको रौं पनि हल्लिँदैन : तामाङ


काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले कांग्रेस–एमालेको वर्तमान सरकार कसैले बिग्रियोस वा भत्कियोस भनेर जतिसुकै धुप बालेपनि सरकारको रौं पनि नहल्लिने दाबी गरेका छन् । उनले भने,‘किनभने यो सरकारलाई एक वर्ष अघिदेखि नै ढल्यो भनियो । अब भन्दा भन्दै ०८४ सम्म जान्छौं ।’

उनले आफूहरु जुनसुकै विषयमा पनि छानबिनको लागि तयार रहेको स्पष्ट पारे । उनले आफूहरुलाई अहिले कुनै पार्टीलाई फुटाउन जरुरी नरहेको बताए । उनले भने,‘हामी कुनै पार्टी फुटाएर ठूलो पार्टी बनाउने ईच्छा छैन् । कुनै दललाई फुटाउने काम गर्दैनौं । दलहरु जुट्नसक्ने कानून बनाउँछौं । हामी जनताको विश्वासमा टिक्छौं । जनतामा भर गर्छौं ।’

उनले गृहमन्त्री रमेश लेखकले दिएको स्टेटमेन्ट हेर्दा र अहिलेसम्मको स्थ्तिि हेर्दा भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्न भएको ठाउँ नदेखिएको दाबी गरे । उनले भने,‘त्यहीभएर राजीनमा नदिएपनि हुन्छ भन्ने हाम्रो दलको कुरा हो । राजीनामा दिनैपर्छ भन्ने कुरा पनि नैतिकता हुँदैन । प्रश्न उठेको विषय नैतिकताको कुरा व्यक्तिमा भरपर्छ । अहिले आएर राजीनामा दिँदापनि नैतिकता हुँदैन् ।’

उनले एमालेमा कुनै गुट नरहेको जिकिर गरे । उनले भने,‘नेताहरूको नाम जोडेर गुटबन्धी छैन् । ११औं महाधिवेशन गुटरहित ढंगले सम्पन्न गर्छौं ।’ उनले जुनसुकै भ्रष्टाचारको मुद्दामा सरकारले अदालतको कठघरासम्म पुर्याउने बताए । उनले भने,‘प्राप्त प्रमाणको आधारमा महान्यायािधवक्ताले व्याख्या गर्ने हो । जुनसुकै खालको भ्रष्टाचारको मुद्दा भएपनि त्यसलाई अदालतको ढोकासम्म पुर्याउने काम सरकारले गर्छ । अख्तियारले आफ्नो तहबाट छानबिन गरेको छ । उसले अदालतको कठघरामा पुर्र्याएको छ । अख्तियारलाई धन्यवाद भन्नुपर्ने हुन्छ । ठूला मुद्दाहरुमा आँटका साथ मुद्दाहरु अदालतमा पुर्याएको छ । अख्तियारले उठेको प्रश्नको उत्तर अदालतसम्म पुर्याृउने हो । त्यसको जाँच अदालतले गर्छ ।’