हाम्रो तर्फबाट सरकारलाई धोका हुन्न : सिटौला (भिडिओसहित)


काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभामा दलका नेता कृष्णप्रसाद सिटौलाले आफूहरुको तर्फबाट एमालेसँगको गठबन्धनमा रहेको यो सरकारलाई धोका नहुने दाबी गरेका छन् । तर, एमालेले के गर्छ भन्ने कुरा उसले जान्ने कुरा भएको उनको भनाई छ ।

हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता सिटौलाले यस्तो बताएका हुन् । यद्धपी अहिलेको सरकारले आफूहरुले सोचेजस्तो काम गर्न नसकेको आलोचना गरे । तर, सरकारले काम गर्न सकेन भनेर साथीहरुबाट आउने गुनासोलाई भने स्वभाविक रुपमा लिनुपर्ने उनको तर्क छ ।

उनले भने,‘सरकारमा बस्ने मन्त्रीहरु र प्रधानमन्त्रीहरुले अलिकति आफूलाई करेक्शन गरेर सिंगो राष्ट्रको लागि काम गर्न सक्नुपर्छ भन्ने त सुझाव हो नि । आलोचनात्मक सुझाव हो नि ।’ उनले कांग्रेस–एमालेबीच सरकार गठनको बेलामा भएको ७ बुँदे सहमति पालना भैरहेको र संविधान संशोधनको लागि भने काम भैरहेको सुनाए ।

उनले संविधान संशोधन कांग्रेस र एमालेले मात्रै गर्न नसक्ने भएकोले यसको लागि सहमति गरिने बताए । उनले गणतन्त्र कमजोर नभ्एको समेत दाबी गरे । तर, राज्य संयन्त्रले ठीक ढंगले काम गर्न नसकेको होला भन्ने उनको तर्क छ ।

उनले कांग्रेस–एमालेको अहिलेको गठबन्धन नभत्किने दाबी गरे । उनले भने,‘नेपाली कांग्रेसको कारण कसैले धोका पाउँदैन । हामी विश्वासको राजनीति गर्छौं । हामीले जे बोलेका छौं, त्यही गर्छौं ।’ उनले एमालेले सहमतिबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमै प्रधानमन्त्री बनाउनेमा आफूहरु विश्वस्त रहेको दाबी गरे ।