पाठकको मनोविज्ञानलाई सकारात्मक मोड दिन सक्नु नै सफल स्रष्टाको गुण हो: हंसावती कुर्मी ‘हंसा’


माता/पिताः तारा/शिवशरणप्रसाद कुर्मी

जन्मस्थानः शिसवा–९, भानपुर (हालः महाराजगञ्ज–९) कपिलवस्तु

अध्ययनः स्नातकोत्तर (मानवशास्त्र र अङ्ग्रेजी), एकवर्षे बी.एड तथा स्नातकः आम सञ्चार तथा पत्रकारिता

प्रथम प्रकाशित रचनाः सेवा गरौं, २०५० (कविता)

प्रकाशित कृतिः अँजोरिया (कवितासङ्ग्रह, अवधी), विम्ब प्रतिविम्ब (लघुकथासङ्ग्रह, अवधी) र बिरानो वस्ती (कथासङ्ग्रह, नेपाली)

हालः प्राज्ञ परिषद् सदस्य (नेपाल प्रज्ञा प्रतिष्ठान)

प्रकाशनोन्मुख कृतिः अङ्गुलीमाल (नाटक) र निगालीकोट (कथासङ्ग्रह)

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?

म अवधी मातृभाषी भएकोले अवधीमा नै लेख्नेपढ्ने गर्थें, कक्षा चारमा पुगेपछि मात्रै नेपालीमा लेख्न थालेकी हुँ । र कक्षा पाँचमा पुगेपछि विद्यालयस्तरीय प्रतियोगितामा सहभागी हुन थालें । यही समयलाई लेखनको सुरूवात मान्नुपर्छ ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

मेरो बुझाइमा लेखनका लागि प्रभावित पार्ने मुख्य कुरा प्रकृति नै हो । त्यसमा पनि मलाई बगिरहेको कुलो, खोला र नदीको पानीले निकै प्रभावित गर्दथ्यो । म घण्टौंसम्म हेरिरहन्थें । अहिले पनि त्यहाँ एक किसिमको संवाद भइरहेजस्तो लाग्छ । अर्को कुरा भनेको समाज र जीवनशैली हो । अब कसबाट भन्नुपर्दा मैले कुनै एक व्यक्ति तोक्न सक्दिनँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

लेखनलाई आवेश (Passionate) भएर लेख्नु हुँदैन । लेखनमा पोखिएको विचारले तत्कालीन समाजको या भनौं सभ्यताको प्रतिनिधित्व गर्ने भएकोले गहन अध्ययन अनुसन्धान गरेरमात्रै लेख्नुपर्छ । विषयवस्तुलाई जुनसुकै विधामा ल्याए पनि । त्यसैले मेरो लेखन गतिविधि कछुवाकै गतिमा छ भन्दा पनि हुन्छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

भन्नलाई त सन्तोष गर्नु नै सुख हो भन्ने गरिन्छ । तर मेरो बुझाइमा सिर्जनाको क्षेत्रमा सन्तुष्ट भइदिने हो भने सिर्जनशीलता रोकिन्छ । धेरै कुरा लेख्न बाँकी छ जस्तो लाग्छ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

हजुर, अहिले पहिले लेखेर राखेको नाटकलाई पुनः आफैंले सम्पादन गर्दैछु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

यस कुरामा मलाई पं.जवाहरलाल नेहरू र रामधारीसिंह दिनकरको संवाद याद आउँछ । जब राष्ट्र, सत्ता र सरकार लडखडाउँछ– तब साहित्य र स्रष्टाले सहारा दिने गर्छन् । त्यसैले साहित्य र स्रष्टा आफैं आत्मनिर्भर छन् तर समुचित विकासका लागि स्थान दिनुपर्छ । यी दुवैले राष्ट्रको अभिभावकीय जिम्मेवारी निर्वाह गरेका हुन्छन् ।

तपाईंको साहित्यिक आदर्श के हो ?

हामीले पाएको यो जीवन सुन्दर छ, शरीरमा श्वास रहेसम्म गतिशील, उत्पादनमूलक र सुन्दर बनाइराख्नुपर्छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

एकले अर्कोलाई मूल्याङ्कन गर्नुपर्छ जस्तो लाग्दैन र गर्नु पनि हुँदैन । प्रत्येक लेखकले आफ्नो लेखकीय दायित्वलाई आफैँले स्वमूल्याङ्कन गर्ने हो र मुख्य मूल्याङ्कनकर्ता भनेका पाठक हुन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

मैले अघि पनि भनें, सिर्जनाको क्षेत्रमा सन्तुष्टि भनेको बाधक हो । त्यसैले म पनि सन्तुष्ट छैन । यसले त पूर्णविराम लगाइदिन्छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

साहित्यका हरेक विधामा हिजोभन्दा आज धेरै पुस्तक प्रकाशन भएका छन् । केही नयाँ विधा पनि थपिएका छन् । यसका विभिन्न कारण छन् : शिक्षामा पहुँच, सूचना र प्रविधिको विकास । विभिन्न कालखण्डमा लेखिएका साहित्यको आ÷आफ्नै विशेषता छ । यसमा तुलना गर्ने कुरा नै हुँदैन ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

साहित्य एकातिर तत्कालीन समाजको प्रतिविम्बन गर्ने हुनुपर्छ भने अर्कातिर भविष्यका लागि पर्यामैत्री दिशानिर्देश गर्नेखालको हुनुपर्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

आफूलाई जुन कुराले प्रभावित पार्छ चाहे त्यो, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय र मनोविज्ञान किन नहोस् यस्तै अहिलेको समयमा सूचनाप्रविधि पनि हुन सक्छ– जसले जिज्ञासा र कौतुहलता भरिदिन्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

लेख्नै का लागि भनेर कुनै निश्चित समय छुट्ट्याएकी छैन । तर धेरैजसो घरको सबै काम सकिएपछि राति नै लेख्ने गर्छु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

यसका लागि पनि कुनै त्यस्तो निश्चित वातावरण छैन तर सकेसम्म तथ्याङ्क केलाउने र त्यसलाई विश्लेषण गर्न मिल्ने वातावरणचाहिँ हुनुपर्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

जुन विषयले धेरै प्रश्न उब्जाउँछ र ती प्रश्नको जवाफले वर्तमानमा समाधान दिन्छन्, मानसिक रूपमा सन्तुष्टि दिन्छन् र आउने समयका लागि दिशानिर्देश गर्छन् ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

जीवन र जगत्को पत्र÷पत्र केलाएर कुनै पनि विधामार्फत पाठकको मनोविज्ञानलाई सकारात्मक मोड दिन सक्नु नै सफल स्रष्टामा आवश्यक गुण हो, मेरो बुझाइमा । जुन कृति पढ्दा, पाठकको मनमा धेरै प्रश्न उब्जिन्छ, र पढ्दै जाँदा सकारात्मक गन्तव्य पनि भेटिन्छ । र पढ्दै जाँदा पाठकले विगत, वर्तमान र भविष्यलाई आफ्नै किसिमले विश्लेषण गरेर बुझाउँछ र अन्त्यमा पाठकलाई एउटा सर्जक बनाइदिन्छ । त्यो सफल सर्जक हो ।

अहिलेको अवस्थामा लेखनबाट गुजारा चलाउन सम्भव छ जस्तो लाग्छ ?

व्यक्तिले आफ्नो इच्छा, रुचि र खुबीलाई पेशामा रूपान्तरण गर्नुपर्छ । र, त्यहींबाट आफ्नो दैनिकीको सुरूवात गर्नुपर्छ । इमानदारीले मेहनत ग¥यो भने त असम्भव भन्ने कुरै आउँदैन ।

लेखनकार्यमा गुनासो गर्नेहरूलाई के भन्नुहुन्छ ?

लेखन भनेको एक किसिमको मानसिक उपचार हो भने अर्को अनुसन्धानमूलक प्रयोग पनि हो । त्यसैले गुनासो नगरिकन आफूभित्रका कमीकमजोरी केलाउन सकियो भने मनमा उठेको गुनासो हराएर जान्छ ।