काठमाडौं, २८ जेठ । कवाड व्यवसायी समाज नेपालका प्रतिनिधिहरुले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका प्रतिनिधिहरुले आज सिंहदरबारमा भेट गरी कवाड व्यवसायी र संकलकहरुमाथि भईरहेको काठमाडौं महानगरको गुन्डागर्दी र ज्यादतीलाई तत्काल रोक्नलगाई व्यवसायीको जिउधनको रक्षाको लागी माग गरेका छन् ।
उनीहरुले अर्थमन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा निवेदन यो छ कि हामी कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता रहि काठमाडौँ महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका छौ । बर्षौदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने राजस्व कर तिर्दै आएका छौं । देशमा संचालीत उद्योगहरु स्टील, वियर तथा मदिराजनय उद्योग, कागज, प्लाष्टिक, ब्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेको छ । हाल यो व्यवसायमा एक लाख मानिस प्रतक्ष रोजगारमा आवद्ध रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं र वातावरणीय सरसफाईमा कवाड व्यवसायको योगदान रहेको छ ।’
विज्ञप्तीमा थप भनिएको छ,‘तथापि काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको छ । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको छ । कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी हामी कवाड व्यवसायी माननीय अर्थमन्त्री ज्यु समक्ष अनुरोध गर्न चाहन्छौं ।’




प्रतिक्रिया