माधव नेपालको सांसद पद निलम्बन भएको सदनलाई जानकारी


काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन गरिएको सदनलाई जानकारी गराएका छन् । पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अध्यक्ष नेपाललाईसमेत प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित निर्वाचित प्रतिनिधिसभाका सदस्य माधव कुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सम्मानीत विशेष अदालत काठमाडौंमा हदभन्दा बढी जग्गा खरिद गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी गरी भ्रष्टाचार गरेको समेत भन्ने शीर्षकमा मुद्दा दायर भएको र निज माधव कुमार नेपाल सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक भएकाले मुद्दाको किनारा नहुन्जेलसम्म स्वतः निलम्बन रहने सभासमक्ष जानकारी गराउँछु,’– सभामुख घिमिरेले भने ।

पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ । हाल रवि लामिछाने, मोहन बस्नेत, माया गुरुङलगायतका सांसदहरुको पद विभिन्न मुद्दाको सन्दर्भमा निलम्बनमा रहेको छ ।