पत्रकार दिलभूषण पाठकको पक्राउ पुर्जीविरुद्ध ३५ सम्पादक एक ठाउँमा


काठमाडौं, ३१ जेठ । विभिन्न सञ्चार गृहमा आवद्ध सम्पादकहरुले पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबार ऐन जस्तो फरक उद्देश्यले बनेको कानुनको आधारमा पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले जारी भएको पक्राउ पुर्जी खारेजीको माग गरेका छन् ।

‘कसैले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्दा अप्रमाणित, अस्पष्ट सामग्री प्रस्तुत गरेमा त्यस विरुद्ध प्रेस काउन्सिल र न्यायालयमा मुद्दा दिन सकिने स्पष्ट कानूनी व्यवस्था र अभ्यास छ । तर फरक उद्देश्यका लागि बनेको कानूनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो,’– जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जोडिएको एक सामग्री बनाएको भन्दै पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पादकहरू अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संविधानद्वारा संरक्षित मौलिक हकको रक्षा हुनुपर्नेमा दृढता व्यक्त गरेका छन् ।