काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा न्यूनतम् नैतिकतासमेत नदेखाएको बताएका छन् । आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफ्नो मातहतमा रहेका अध्यागमनका प्रमुख र आफ्नो सचिवालय भ्रष्टाचारमा जोडिएपछि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए । नैतिकताको आधारमा दिइने राजीनामा राजनैतिक विषय रहेको उनले बताए ।
‘नैतिकता भन्ने कुरा व्यक्तिमा भर पर्छ कसैले उच्च देखाउँछ, कसैले मध्यम खालको र कसैले निम्नखालको नैतिकता देखाउने हो । यो राजनीतिक विषय हो । यसमा गृहमन्त्रीजी तयार हुनुभएन । त्यसमा हामीले अड्डी राखेनौं । किनभन्दा भोलि कुनै पनि बेला छानविन गर्दैै जाँदा उहाँतिर सोझिनेबित्तिकै उहाँले दिनै पर्ने हुन्छ । त्यतिखेर फेरि हामी राजीनामा माग्छौं । त्यस्तो अवस्था देखियो भने,’– उनले भने ।
साथै, माओवादीले भन्दा पहिला कांग्रेसले नै गृहमन्त्री लेखकको राजीनामा मागेको उनले बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका थियौं । हामीभन्दा पहिला कांग्रेसले नै मागेको थियो । सत्तारुढ दलभित्र नै मागिएको थियो, अरुअरुले मागेका थिए । हामीले नैतिकता देखाउनुस्, तपाई आफ्नै सचिवालयमा मान्छेहरु मुछिए, प्रश्न उठ्यो, आफैं मातहतको सहसचिव, आफैंले पठाएको मान्छेमाथि प्रश्न उठ्यो, त्यसो हुँदा नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्यौं,’– उनले भने । File Photo/RN




प्रतिक्रिया