काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने क्रममा देशलाई भ्रष्टाचार मुक्त बनाउने, दीगो शासन स्थापना गर्ने र विकासको मूल फुटाउँछौं भनेको कारण सरकारलाई समर्थन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा गरेका ती प्रतिवद्धताहरु कुनै पनि पूरा नगरेको बताए । उनले वर्तमान सरकारले सुशासन र विधिको शासनको धज्जी नै उडाएको उनको आरोप छ । नेता सुमनले उचित समयमा सरकारलाई दिएको समर्थनको निर्णय लिइने बताए ।
‘अहिले हामीले उहाँको मूल्याङ्कन गरिराखेकै छौं । न त विकासको मूल फुटेको छ । न भ्रष्टाचार कम भएको छ, शून्यता त धेरै टाढाको कुरा हो । विधिको शासनको त धज्जी उडाइएको छ । यस्तो अवस्थामा मौका नपाएर हो । मौका पाएपछि हामी उचित अवस्थामा सरकारको समगर्थनको बारेमा उचित निर्णय गर्छौं नै । अहिलेसम्म समर्थन कायमै छ । यो सरकारमा जाने तरखरमा भने छैन,’– उनले भने ।
आफूहरु वर्तमान समीकरण भंग नभएसम्म प्रदेश र संघ दुईमा सरकारमा नजाने उनले बताए । मधेश प्रदेश सरकारको नेतृत्वमा जो भए पनि सुशासन र विकासको पक्षमा लाग्नुपर्ने उनले बताए । अहिले जसपा नेपाल मधेशमा सशक्त प्रतिपक्ष रहेको अवस्थामा सत्तारुढ दलेले संसद् चलाउनै आनाकानी गरिराखेको उनले बताए । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको बजेटलाई ‘घटिया र बेतुकको बजेट’ को संज्ञा दिए ।




प्रतिक्रिया