काठमाडौं, ६ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई संसद्मा मर्यादित पोशाकमा आउनमात्रै भनेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्को नियमावलीले मर्यादित पोशाकमा आउनुपर्ने भनेर व्यवस्था गरेको बताए । उनले रास्वपाका सांसदहरुले एउटै कलर भएको स्कार्फ लगाएर आउनु उचित नभएको बताए ।
‘उहाँहरुको शक्तिलाई म अस्वीकार गर्दिनँ । उहाँहरुको शक्तिलाई म स्वीकार गर्दै संसद्भित्र मर्यादित चाहिँ हुनुपर्यो । उहाँहरुले जुन स्कार्फ लगाएर आउनुभयो, त्यो स्कार्फ चाहिँ मानव तस्करीको सिग्नल हो भनेर उहाँहरु आफैंले भनिरहनुभएको छ । उहाँहरुले मानव तस्करीको कुरा गर्दै हुनुहुन्छ, त्यो मानव तस्करीको विषय पनि होइन । उहाँहरुको सबै सांसदहरुले स्कार्फ लगाएर आउनुभयो, त्यो राम्रो भएन,’– उनले भने ।
उनले कांग्रेसले जहिले पनि विरोधी विपक्षीसहितको संसद् चाहने बताए । बीपी कोइरालाले २०१५ सालमा गोर्खा परिषद्लाईसमेत विपक्षी दलको मान्यता दिएर राखेको उनले स्मरण गराए । आफूहरुले पहिलो पनि बलियो विपक्षी चाहेको र उनीहरुलाई खेदेको भन्ने कुरामा सत्यता नरहेको बताए । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा सहमतीमा आएर पनि ब्याक भएको उनले बताए । ‘उहाँहरुसँग हामी समन्वय कै पक्षमा छौ । उहाँहरुलाई समन्वय गर्न जुन बेला माओवादीसँग वार्ता भइराखेको थियो, त्यो बेला उहाँहरु (रास्वपा, राप्रपा) सँग पनि समानन्तर रुपमा वार्ता हाम्रो चलेको हो । उहाँहरुले केही कुराहरु राख्नुभयो, त्यो प्रस्ताव हामी स्वीकार गर्न पनि तयार भयौं, तर पछि उहाँहरु आफैं ब्याक हुनुभयो,’– उनले भने ।
रास्वपाले संसद्मा जुत्ता खोलेर बसेको उनले बताए । यसो गर्न नपाइने उनको भनाइ छ । विगतमा गोल्छे सार्कीले रामचन्द्र पौडेललाई जुत्ताले हानेको बताउँदै उनले यस्तो प्रकारको घटना दोहोरिने काम गर्न नहुने बताए ।




प्रतिक्रिया