रास्वपाले नीलो रिबन र कालो लुगा लगाएर स्टन्ट गरेको एमालेको आरोप, माओवादीसँग भएको सहमतिअनुसार सदन चल्ने प्रष्टोक्ति


काठमाडौं, ६ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नीलो रिबन र कालो लुगा लगाएर स्टन्ट गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले जति नै स्टन्ट गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिअनुसार संसद चल्ने बताए ।

प्रमुख प्रतिपक्षी माओवादीसँग भएको सहमतिअनुसार नै भिजिट भिसा प्रकरणको अनुसन्धान र छानविन हुने पनि उनले प्रष्ट पारे । नेता बर्तौलाले सरकारले प्रमुख प्रतिपक्षी माओवादीसँग सहमति गरेपछि पनि रास्वपाले स्टन्ट गरिरहेको बताए ।

उनले रास्वपाले केटाकेटीको जस्तो प्रवृत्ति देखाइरहेको टिप्पणी गरे । ‘उहाँहरु प्रणालीमा आउनुभयो । तर, यसलाई ग्रहण गर्ने कुरा, यसको पद्धति र संस्कारलाई आफूलाई अभ्यस्त गराउने कुरामा उहाँहरुले ध्यान दिनुभएको छैन । बाहिर स्टन्ट गर्ने कहिले कालो ड्रेस लगाएर हिँड्नुभएको छ, कहिले स्कार्फ लगाएर हिँड्नुभएको छ । यो खालको केटाकेटी शैली चाहिँ राम्रो होइन,’– उनले भने ।

रास्वपाको स्टन्टकै कारण आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाउनु परेको उनले बताए । ‘प्रतिपक्षीको मुद्दा सरकारले सुन्नेमात्र होइन, कार्यान्वयन गर्न तयार छ । कार्यन्वयन गर्ने कुरा भनिसक्यो, त्यसपछि पनि रास्वपा, जुन ढंगबाट उहाँहरु विरोधमा लागिरहनुभएको छ र सम्माननीय प्रधानमन्त्रीज्यूको आजको प्रश्नोत्तर कार्यक्रम भनेको यो नियमावलीबमोजिम निर्धारण भएको विषय हो । आज उहाँले बोल्न पाउनुभएन, अवरोध सिर्जना भयो । अबरोधका बीचमा सम्माननीय प्रधानमन्त्रीलाई रोस्ट्रममा पुर्याएर नाराबाजी गराउने कुरा सोभनीय देखिएन भन्ने लाग्यो सम्माननीय सभामुखज्यूलाई उहाँले कार्यसूची हेरफेर गर्दिनुभयो,’– उनले भने । File Photo/RN