काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री हरि उप्रेतीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेसहित बनेको सरकारले जनताको पक्षमा काम गर्ने अपेक्षा भए पनि त्यो हुन नसकेको बताएका हुन् । उनले नीति तथा कार्यक्रम पनि अपेक्षा गरिएको जस्तो नआएको बताए ।
‘मैले पनि जुन किसिमको अपेक्षा गरेको थिए, स्टोङ गभरमेन्टबाट हुनुपर्ने, दुई ठूला दल मिलेर बनेको सरकारबाट हुनुपर्ने, जुन किसिमको नीति तथा कार्यक्रम आउनुपर्ने, त्यो किसिमको आएको छैन । जुन परिणाम दिनुपर्ने हो, त्यो दिन सकिराखेको छैन । यसको लागि अलिकति हामीले त्यही किसिमले कार्यक्रम तय गरेर जानुपर्ने हुन्छ,’– उनले भने ।
नेता उप्रेतीले तुलनात्मक सरकारले केही काम गरेको भए पनि अपेक्षाकृत नरहेको बताए । सरकारले अधुरा कामहरु पूरा गर्न नसकेको र जनताको पक्षमा र मुलुकलाई परिणाम दिन नसकेको उनले बताए । उनले मुलुकको स्थिति दिनप्रतिदिन गिर्दो अवस्थामा रहेको बताए । किसानहरुले अनुदान र उखुको पैसा नपाइरहेको, एयरपोर्टमा विदेश जाने युवाहरुको लर्को रहेको, विदेश जानेबेलामा पनि घरबाट निस्किएदेखि नै युवाहरु ठगिने अवस्था रहेको बताए । रेमिट्यान्स जम्मा गर्नेमाथि ठूलो ठगी भइरहेको उनले बताए ।




प्रतिक्रिया