विश्व योग दिवसमा प्रधानमन्त्रीको आग्रहः पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्


काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन् । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको बताए । उनले योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य रहेको बताए । ‘योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले पेट भर्नका लागि नभएर स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्ने बताए । .उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी रहेको बताए । ‘आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरुले बुझिदिए भने शान्ति हुन्छ । म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु । नपाएको बेला पवित्र भावना राख्छु । योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,’– उनले भने ।

प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने नरहेको बताए । उनले भने, ‘समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ ।’

उनले संयुक्त राष्ट्रसङ्घले योग दिवस मानेको यस दिनमा शुभकामना व्यक्त गरे । ‘नेपालका पुर्खाहरुबाट योगको सृजना भएको थियो, पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ, पानी र हावा पनि देवता हो, हामी गर्वमा हुँदा र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ, हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौं, योगमा शक्ति छ, पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ, विश्वामित्रले सर्जरीको विकास गर्नुभयो, विश्वामित्रले आफ्ना नाति चरकलाई डक्टर बनाउनुभयो । चरकले आरोग्य विज्ञानको विकास गरे, विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार गर्यो,’– उनले भने ।

हरेक वर्ष जुन २१ मा दिन विश्व योग दिवस र हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।