काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले बजेट प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र केन्द्रीत भएको बताएका छन् । आज (शनिबार) विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै मन्त्रालयको बजेट पुस्तिकामा झापा, झापा मात्रै रहेको र झापामा पनि प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका पालिकाहरु रहेको बताएका हुन् ।
‘बजेटको पुस्तिका हेर्यो भने सबै मन्त्रालयको बजेटको पुस्तिकामा झापा, झापा छ । बाटो बनाउने, पुल बनाउने, स्कुल बनाउने, स्वास्थ्य चौकी बनाउने, बाँध बाध्ने जे भने पनि झापा, झापा छ । झापाको पनि दमक, गौराहद, गौरीगञ्ज भनेर प्रधानमन्त्रीको निर्वाचन क्षेत्र, प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका गाउँपालिकामा बजेट केन्द्रीत छ । सडकको पनि, विजुलीको पनि, खानेपानीको पनि, पर्यटनको पनि भनेपछि एउटा सानो निर्वाचन क्षेत्रबाट जितेर आएको मान्छे प्रधानमन्त्री बन्ने व्यवस्था रहेसम्म प्रधानमन्त्री देशप्रति उत्तरदायी नहुने रहेछ । उसलाई कर्णालीको बारेमा चिन्ता नहुने रहेछ,’– उनले भने ।
केही समयअघि प्रधानमन्त्री ओली चीन जाँदासमेत आफ्नो निर्वाचन क्षेत्रमा रङ्गशाला र शेरबहादुर देउवाको लागि सिटहल मागेको नेता लिङ्देनले बताए । देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमणमा जाँदा पनि आफ्नो निर्वाचन क्षेत्रको मात्रै चिन्ता गरेको उनले बताए । अब देश नै एउटा सिङ्गो निर्वाचन क्षेत्र बनाउनुपर्ने उनको भनाइ छ । ‘जबसम्म देशलाई एउटा सिङ्गो निर्वाचन क्षेत्र बनाउन सकिँदैन, तबसम्म निर्वाचन निष्पक्ष पनि हुँदैन र समानुपातिक वितरण पनि हुँदैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया