भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्छः रामहरि खतिवडा


काठमाडौैं, ९ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्गर्तको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय समिति गठन गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भिजिट भिसा प्रकरणमा हिजो के भएको थियो र आज के भइरहेको छ भन्ने कुरा अनुसन्धान गरिने बताएका हुन् । ‘भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय समिति गठन गर्छ । भिजिट भिसा प्रकरणका हिजो के–के गल्ती भएका रहेछन्, आज के भए, को दोषी रहेछ, भोलि के–के यसलाई सुधार गर्नुपर्छ सबै कुरा हेर्नका लागि तयार छ र केही दिनमा नै उच्चस्तरीय समिति गठन हुन्छ,’– उनले भने ।

गृहमन्त्रीले संसद्मै उभिएर भिजिट भिसा प्रकरण छानविनको लागि समिति बनाउने सन्दर्भमा बोलिसकेको बताउँदै उनले विश्वासको विकल्प नरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले स्टन्ट गरेको उनको आरोप छ । रास्वपाका केही नेताहरुले बजेटमाथिको बहसमा भाग लिनै नचाहेको र आधाभन्दा बढी माननीयहरु यस्तो अवस्थामा पनि घुम्न निस्किएको उनको भनाइ छ ।

‘भिजिट भिसाको प्रकरणम जस्तो लाग्छ, उहाँहरुले उफ्री, उफ्री कराइरहनुभएको छ । रास्वपा भन्ने पार्टीप्रति हाम्रो एकदमै सम्मान छ, युवा साथीहरु हुनुहुन्छ । राजनीति भनेको परिपक्व गर्नुपर्छ । कहिलेकाहीँ प्रतिपक्ष र सत्तापक्ष भएर होइन देशपक्षीय भएर पनि सोच्नुपर्छ । रास्वपाका साथीहरु आउने, बुरुक्क उफ्रिने, बाहिर दुई चार शब्द बोल्ने अनि सोसल मिडियामा कराउने हिँड्ने हो । अहिले संसद् चलिरहेको छ, देशमा यत्रो समस्या छ । आधाभन्दा बढी माननीयहरु विदेशतिर शयर गर्न लाग्नुभएको छ । यहाँ बस्नेहरुको उफ्रिनेभन्दा बाहेक केही काम छैन,’– उनले भने ।

कुलिङ पिरियड मुलुकको लागि आवश्यक रहेको र आफू त्यसको पक्षमा दृढ रहेको उनले बताए । मिनी संसदले गरेको निर्णय सरकारले मान्नुपर्ने उनको भनाइ छ । ‘राज्य व्यवस्था तथा सुशासन समितिका सबै माननिय सदस्यहरु दृढताका साथ उभिनुभएको छ । यसलाई तुहाउने तिर जान हुँदैन । विधेयक सदनमा हामीले पेश गरेका छौं । अब सदनबाट पारित गर्नुपर्छ । यसमा सबै पारित गर्ने पक्षमा हुनुहुन्छ,’– उनले भने,‘अब यसबाट ब्याक हुने अवस्था छ जस्तो मलाई लाग्दैन । कि त सरकारले विधेयक फिर्ता लिनुपर्यो । त्यो अवस्था पनि छैन ।’