संघीयताको मर्म बुझेर सन्तुलित बजेट बनाएको छुः मन्त्री यादव


काठमाडौं, ९ असार । खानेपानी मन्त्री प्रदीप यादवले संघीयताको मर्म बुझेर मन्त्रालयगत बजेट सन्तुलित बनाइएको बताएका छन् । आज (सोमबार) प्रतिनिधसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफू संघीयताको लागि लडेको व्यक्ति भएको हुनाले पनि त्यसको मर्म बुझेर बजेट बनाइएको बताएका हुन् ।

‘मैले सन्तुलित बजेट बनाएको छु । एक त हामीले संघीयताको लागि मैले पनि लडेको हो । बजेट बनाउँदा संघीयता कार्यान्वयन पनि सोच्नुपर्छ नि । ५ लाख, १० लाख, २० लाख पनि केन्द्रमा राख्ने, अनि प्रदेश र स्थानीय तहले के गर्ने त ? यो कुरा हामीले बुझ्नुपर्छ । यसकारणले यो बजेट बनाउँदा हामीले संघीयताको ख्याल राखेका छौं,’– उनले भने ।

प्राप्त बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको उनले बताए । बहुवर्षीय ठेक्काको लागि कार्यान्वयन हुने आयोजनाहरुको स्रोत सुनिश्चितता आवश्यक पर्ने बताउँदै उनले स्रोत सुनिश्चित भएपछि आन्तरिक व्यवस्थापन गरेर आयोजनाहरुलाई कार्यान्वयनमा लैजाने मन्त्रालयको योजना रहेको बताए ।