देशमा कांग्रेस-एमालेले लुट मच्चाइरहेका छन्, ०८४ को चुनावमा यिनीहरुको नाश हुन्छः अमरेश सिंह (भिडिओसहित)


काठमाडौं, १० असार । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले अहिले देशमा कांग्रेस–एमालेले लुट मच्चाइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अहिलेको जस्तो लुट आफूले जिन्दगीमा कहिले पनि नदेखेको बताए । जताततै आफ्नो मान्छेलाई नियुक्ति दिने, राम्रो मान्छेलाई नियुक्ति नगर्ने, गलत प्रवृत्तिको विरोध गर्नेलाई उल्टै लान्छना लगाउने काम भइरहेको उनले बताए ।

‘अहिले कांग्रेस–एमालेले लुट मच्चाइरहेको छ । केन्द्रदेखि लिएर प्रदेशसम्म, यस्तो लुट मैले जिन्दगीमा देखेको थिइनँ । म पनि लगातार केही वर्षदेखि सांसद हो, तर यस्तो लुट प्रवृत्ति देखेको थिइन । मन्त्रीहरुलाई प्रधानमन्त्रीलाई लाज नै लाग्दैन,’– उनले भने ।

साथै, देशको एक खर्बभन्दा बढी राजश्व विभिन्न भ्यू टावरहरुमा खर्च गरिएको भन्दै उनले आपत्ति जनाए । उनले कृषि र जलविद्युतमा लगानी बढाएमा मात्रै देशको विकास सम्भव रहेको बताए । उत्पादनमुखी बजेट लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘कृषिमा लगानी गरेको भए उत्पादन बढ्थ्यो । त्यसले खाद्य वस्तुहरुखको आयत घट्थ्यो । दोस्रो कुरा ऊर्जामा लगानी राम्रोसित भएको भए ऊर्जाको निर्यात हुन्थ्यो । देशको आर्थिक संमृद्धि हुन्थ्यो,’– उनले भने ।

साथै, उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यान अनुत्पादक क्षेत्र र कमिसन आउने तर्फ केन्द्रीत रहेको आरोप लगाए । अर्थमन्त्री पौडेलको आलोचना गर्दै उनले भने, ‘अर्थमन्त्रीको जुन प्रवृत्ति छ, अर्थमन्त्रीले उत्पादनमा कहिल्यै ध्यान नै दिँदैनन् । उसको ध्यान खाली भ्यू टावरमा छ, सभाहल बनाउनमा छ, उसको ध्यान खाली १० अर्बको संसद् भवन बनाउनमा हुन्छ, १० अर्बको मन्त्री क्वाटर बनाउनमा छ । उसको ध्यान १० अर्बको मुख्यमन्त्री क्वाटर बनाउनमा छ, सात/आठ अर्बको सर्वोच्च अदालत बनाउनमा छ । यहाँ चार/पाँच जना ठेकेदारको सिन्डिकेट छ । सिन्डिकेटले भवन निर्माण गर्छ र मन्त्रीहरुलाई कमिसन दिन्छ ।’

यस्तै अवस्था कामय रहेको खण्डमा २०८४ को निर्वाचनमा कांग्रेस–एमालेको नाश हुने र उनीहरु सरकारमा जाने अवस्था नरहने उनको दाबी छ । साथै, कम्युनिष्ट पार्टीहरुले देशको गरिबीलाई बेचेर आइरहेको उनको आरोप छ । उनले कम्युनिष्टलाई खुन चुस्ने उडुसको संज्ञा दिए ।