पार्टीबाट जसले धेरै लाभ लिएका छन्, उनैले पार्टी छोड्ने गर्छन्ः पूर्ण बस्नेत


काठमाडौं, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीबाट धेरै लाभ लिनेहरुले नै पार्टी छोड्ने गरेको बताएका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केके राईले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेपछि बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

बस्नेतले भने, ‘पार्टीमा जसले सबैभन्दा धेरै लाभ लिएका छन्, अधिकांश तिनै व्यक्तिले पार्टी छोड्ने गरेका छन् । केके राई प्रतिनिधि घटना मात्र हो । लाभको पदसँगै पार्टीमा प्रवेश, पार्टीमा छोटो समयमा ठूलो पद र जिम्मेवारी अनि पार्टी परित्याग, पार्टीमा यो प्रवृत्ति सामान्य छ ।’

तत्कालीन समयमा पार्टी अध्यक्ष स्वास्थ्यमन्त्री बन्ने पक्का भएपछि स्वास्थ्यमन्त्रीको प्रमुख सल्लाहकार हुन आएका राईले लाभको पद सकिएसँगै पार्टीमा केन्द्रीय कार्यकारिणी सदस्य पदको जिम्मेवारी पाएको र अहिले पार्टी परित्याग गरेको उनले बताए ।