काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ प्रेरित र कमजोर समिति गठन गरेको बताएको छ । पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनेको समितिप्रति धारणा व्यक्त गर्र्दै रास्वपाले भनेको छ, ‘भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र ठगी जस्तो गम्भीर संगठित अपराधको छानबिन गर्न सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा स्वार्थ प्रेरित र कमजोर समिति गठन गरेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
छानविन समितिको नाममा निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्र भइरहेको रास्वपाको ठहर छ । सरकारद्वारा गठित समिति हामी पूर्णरुपमा अस्वीकार गरिने रास्वपाले बताएको छ ।
भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि नरहेको र यो राजनीतिक र प्रशासनिक संरक्षणमा फस्टाएको संगठित अपराधको सञ्जाल रहेको रास्वपाको दाबी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै परोक्ष संलग्नताको आशंका र प्रत्यक्ष संरक्षणको प्रारम्भिक प्रमाण एवं कार्यान्वयन तहका कर्मचारीहरुको सक्रिय सहभागिता प्रष्टै देखिएको रास्वपाको दाबी छ ।
‘पछिल्लो प्रकरण छानबिनको कार्यादेशसमेत नदिई सरकारको बफादार आदेशपालक र शक्तिका सदावहार समर्थकको नेतृत्व र छानबिन गरिनुपर्ने मन्त्रालयहरुकै उच्चपदस्थ कर्मचारीको संलग्नतामा समिति बनाइनु समस्याको दीर्घकालीन समाधान खोज्न होइन, सम्भावित दोषी उम्क्याउन हो भन्ने हाम्रो ठहर छ । सरकारको यो निर्णयले न दोषी पहिचान हुन्छन्, न पीडितले न्याय पाउँछन् । नत पद्दतिमा नै सुधार हुन्छ,’– रास्वपाले भनेको छ ।




प्रतिक्रिया