सरकारलाई समर्थन दिएको बेकार भयो, पछुतो लागिरहेको छः उपेन्द्र यादव


काठमाडौं, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको औचित्य समाप्त भइसकेको बताएका छन् । आज (मंगलबार) रफत सञ्चार क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारलाई दिइएको समर्थन बेकार भएको बताए ।

‘सरकारलाई हामीले समर्थन दिएका थियौं । हाम्रो भोलुनटिअरली समर्थन थियो । हामीले साथ दिँदै आएको हो । साथ दिँदै आएकोमा पछुताउनुपरेको छ । कसरी र किन साथ दिइयो भनेर । बेकारै भयो साथ दिएको पनि । मूल्याङ्न गर्दा, सरकारको उपलब्धी हेर्दा पछुताउनुबाहेक अरु केही छैन,’– उनले. भने ।

सरकारलाई दिइएको समर्थन फिर्ता लिन पार्टीले संसदीय दललाई हिजोमात्रै निर्देशन गरिसकेको उनले सुनाए । संसदीय दलको बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिइने उनले सुनाए । ‘बैठक बसेर अब त्यतातिर पार्टी अगाडि बढ्छौं । अहिले त कांग्रेस–एमालेको सहकार्य नै असफल भइसक्यो । यो गठबन्धन नैै असफल भयो,’– उनले भने ।

यो गठबन्धन नै गलत र असफल भयो भनेर कांग्रेसका धेरै नेताहरु बोलिराखेको पनि उनले बताए । कांग्रेस–एमालेसहितको गठबन्धन सरकारबाट मुलुकलाई अहित भएको उनको दाबी छ । कांग्रेसलाई गठबन्धन सरकारबाट अहित भएको कुरा कांग्रेसकै नेताहरुले बोलिराखेको पनि उनले सुनाए । एमालेमा पनि सरकारबारे असन्तुष्टि चुलिने क्रम जारी रहेको र काम गर्ने पाइएन भन्ने गुनासो रहेको उनले बताए ।