काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउन चाहिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगीबाट रवि लामिछानेलाई उन्मुक्ति दिलाउन सकिन्छ कि भनेर रास्वपा सरकारमा आउने जोडबल गरिरहेको बताए । ‘आज रास्वपाले सोचेको होला– सरकारमा कुनै हिसाबले प्रवेश गर्न सकियो भने सबै कुराबाट उन्मुक्ति प्राप्त गर्न सकिन्छ कि भन्ने उहाँहरुलाई लागेको हुनसक्छ । उहाँहरुलाई लाग्ने कुराको बारेमा मैले केही भन्नु छैन,’– उनले भने ।
साथै, देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि कांग्रेस–एमालेसहितको गठबन्धनको विकल्प नरहेको उनले बताए । नेता गिरीले गठबन्धनमा कुनै पनि प्रकारको समस्या नरहेको दाबी गरे । नेता गिरीले कांग्रेस–एमालेसहित सत्तामा रहेका अन्य दलहरुले पनि दह्रो गरी खुट्टा टेक्नुपर्ने बताए । ‘नेकपा (एमाले), नेपाली कांग्रेस गठबन्धनको सरकार छ, यो यावत समस्याको समाधान दिएर देशलाई विकासको बाटोमा हिँडाउने, सुशासनको बाटोमा हिँडाउने, समृद्धिको बाटोमा हिडाउने, आम तमाम जनताका, साह्रा युवाहरुको समस्या समाधान गर्ने कुरामा ठूला राजनीतिक शक्ति एक ठाउँमा उभिएर दृढताको साथ काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । यी दुई पार्टी र यो सँग जोडिएका अन्य पार्टीले पनि दह्रो गरी खु्ट्टा टेक्नुपर्छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले बजेटमा विगतको भन्दा धेरै सुधार रहेको उनले दाबी गरे । अहिलेको बजेट सबै हिसाबले पर्फेक्ट छ भन्ने अबवस्था भने नरहेको उनले बताए । ‘मैले सबै हिसाबले एकदमै पर्फेक्ट छ, बजेट कहीँ सच्याउनै नपर्ने, सुधार्नै नपर्ने, सम्पूर्ण रुपले भरिपूर्ण छ त म भन्दिनँ । तर, विगतमा भन्दा अहिले केही कुराहरुमा सुधार चाहीँ भएको छ,’– नेता गिरीले भने ।
साथै, नेता गिरीले देशमा भएका राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष योगदान रहेको बताए । उनले केपी ओलीलाई च्यालेन्ज गर्न सक्ने र उनले भन्दा मैले बढी योगदान गरेको छु भन्ने दाबीकर्ता कोही नरहेको बताए । ‘जे–जति देशमा उपलब्धीहरु भए नि, केपी ओलीको नेतृत्वमा भएका हुन् । कसैले केपी ओलीलाई चुनौति दिने हैसियत राख्छ भने हामीले यसो गर्यौं भनेर भन्न सक्नुपर्यो । चाहे राजनीतिक परिवर्तनको सवाल होस्, चाहे आर्थिक परिवर्तनको सवाल होस्,’– नेता गिरीले भने ।




प्रतिक्रिया