समितिबाट पारित भएको विधेयक सदनमा पुग्दासम्म धेरै चलखेल हुनेगरेको छः प्रचण्ड


काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट पारित भएको विधेयक सदनमा पुग्दासम्म धेरै किसिमको चलखेल हुनेगरेको बताएका छन् । आज (बुधबार) प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिका छलफलमा भाग लिँदै प्रचण्डले सर्वसम्मतीले पारित भएको विधेयकमा पनि चलखेल हुने, डिले हुने जस्ता समस्या रहेको बताएका हुन् । उनले संघीय निजामती विधेयकमा भइरहेको ढिलासुस्ती र सदनको कार्यसूचिमा चढेर हटाइनुले आफूलाई निकै चिन्तित बनाएको बताए ।

‘हामी समितिमा बस्छौं, छलफल गर्छौं । माननीय सदस्यहरुले विचार गरेर पारित पनि गर्छौं । केही सर्वसम्मतले, कहिलेकाँही भोटिङबाट भए पनि पारित गर्छौं । तर हामीले पारित गरेका विधेयकहरु पनि फुल हाउसमा पुग्ने बेलासम्म धेरै किसिमका चलखेलहरु हुने गरेका छन् । त्यसमा डिले हुने गरेको छ, धेरै–धेरै चिजहरु हुने गरेका छन् । अहिले पनि मैले सार्वजनिक रुपले चिन्ता व्यक्त गरिराखेको पनि माननीय सदस्यहरुले सुनिराख्नुभएको होला । देशको समग्र राजनीतिक परिस्थितिलाई हेरेर र केही संवेदनशील र असाध्यै महत्वपूर्ण विधेयकहरु जो हामीले धेरै मेहनत गरेर सदनमा पुर्यायौं । सदनबाट समितिमा आयो, समितिमा छलफल गरेर हामीले पारित पनि गर्यौं । तर, सदनमा पुगेर कार्यसूचिमा चढेर पनि हटाइनेजस्तो प्रक्रिया देख्दा मलाई चिन्ता भएको छ,’– उनले भने ।