रास्वपाका वकिलको प्रश्नः पतञ्जीमा माधव नेपाल जेल जान तयार हुनुपर्ने, गिरीबन्धुमा केपी ओली झण्डा हल्लाएर हिँड्ने ?


काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अधिवक्ता यज्ञमणि न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणको कारण रवि लामिछाने गृहमन्त्री भएको बेला सरकार फेरबदल भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुको तिर अनुुुसन्धान सोझिएपछि तत्कालीन सरकार ढालिएको बताएका हुन् । उनले वर्तमान सरकारले अपराधलाई प्रश्रय दिइरहेको बताए । वर्तमान सरकारले देश र जनताको भलो नगर्ने उनको भनाइ छ ।

‘आज भिजिट भिसा प्रकरण, गिरीबन्धु प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेता खोई ? किन नगरेको ? सबैभन्दा टुप्पामा कसको नाम आएको थियो ? सामाजिक सञ्जाल, मिडियामा आएको होइन । रवि लामिछाने गृहमन्त्री हुँदाखेरी रातारात सरकार परिवर्तन कसको कारणले भयो ? थाहा पाउनुभयो ?’ प्रश्न गर्दैै उनले भने ।

नेता न्यौपानले भिजिट भिसा प्रकरण, गिरीबन्धु टि स्टेट जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणमा चाहिँ कसैलाई अनुसन्धान र कारबाही नगरिएको भन्दै आपत्ति जनाए । उनले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोधको साँधिएको बताए । उनले गिरीबन्धु, नक्कली भुटानी शरणार्थी, भिजिट भिसा प्रकरणको मुद्दा अदालतमा पुर्याउनुपर्ने बताए । उनले गिरीबन्धु टि स्टेटमा गरेको काम अवैधानिक भएपछि त्यसको परिणाम व्यहोर्नुपर्ने बताए ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लक्षित हुँदै उनले भने, ‘गरेको काम अवैधानिक भएपछि परिणाम व्यहोर्नु पर्दैन ? माधव कुमार नेपालले हदबन्धी छुट दिएको विषय चाहिँ माधव नेपाल थुनामा जानुपर्ने, गिरीबन्धुको हदबन्दी छुट दिने झण्डा हल्लाएर हिँड्नुपर्ने ?’ प्रश्न गर्दै उनले भने ।

साथै, रास्वपाका सभापति लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णयको बौद्धिक टिप्पणी गरेको उनले बताए । पार्टी स्थापना दिवसको अवसरमा लामिछानेले सार्वजनिक गरेको अभिव्यक्तिबारे बोल्दै उनले भने, ‘अदालतको निर्णयप्रति आपत्ति होइन, आफ्नो रिजर्भेसन प्रकट गर्नुभएको हो । त्यो पाइन्छ । अदालतको फैसला बौद्धिक रुपमा टिप्पणीयोग्य हुन्छ ।’