केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायोः प्रभु साह


काठमाडौं, १२ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु लावालस्करसहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदैछ । मन्त्रीहरुकोसमेत बिभिन्न देशको भ्रमण मन्त्रीपरिषद बैठकले स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्रीहरु विदेश भ्रमण गर्दा मुलुकको फजुल खर्चबाहेक अरु केही नभएको उनले बताए ।

‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी÷पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो । अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ आजपा अध्यक्ष साहले भने, ‘युद्धरत देशमा फसेका आफ्ना नागरिक उद्धार गर्न भारत गुहार्नुपरेको छ, अनि हाम्रा यी चोर नेतालाई किन विदेश जान दिने ?’

गत बर्ष बाढीपहिरो हुँदा प्रधानमन्त्री ओली विदेश सयरमा रहेको र अहिले बाढिपहिरो सुरुहुँदै गर्दा नेपाली जनता पीडामा रहेको बेला पनि प्रधानमन्त्री विदेश गायब हुने कार्यक्रम भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री ओलीलाई बालुवाटार, बालकोट र सिंहदरबारबाहेक केही थाहा नभएको बताउदै उनले बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा, नेपाली जनता घण्टौँ सडकमा सास्ती खेपिरहेको बेला सरकारले त्यसलाई सहज गर्ने काम गर्नुपर्ने बताए ।

बजेटको चरम दुरूपयोग गरिएको र जनताको करलाई नेताको भुँडी भराउने काम गरिएकोसमेत उनले वताए । सरकारपिच्छेको मनोमानी कर आतंकले नेपाली जनता, उधोगी, व्यापारीको व्यापार व्यवसाय धरासायी बन्दै गईरहेको आजपा अध्यक्ष साहले बताए ।

कांग्रेस र एमालेको अहिलेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रि भएको बताउदै उनले कोर्श करेक्सन गर्नुपर्ने बताए । ‘केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो । शेरबहादुर देउवाले तत्काल कोर्श करेक्सन गर्नुपर्छ । नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ । केपी ओली अहिलेपनि विरोधीलाई तर्साउने खेलमा छन् । सकेसम्म सानालाई निल्ने उनको प्लान हो,’ आजपा अध्यक्ष साहले भने ।

ओली नेतृत्वको सरकार नेपाली जनताका लागि बोझ भएको उनले टिप्पणी गरे । उनले अहिले आएर कांग्रेस र एमालेकै नेताकार्यकर्ताका लागि सरकार बोझ भइसकेको उनको भनाइ छ । स्वार्थको गठजोडले गर्दा अहिलेसम्म टिकेको गठबन्धन अब बिस्फोटन हुने बेला भईसकेको उनले बताए ।

‘यो सरकार नेपाली जनताको लागि बोझ भएको थियो । अहिले त कांग्रेस र एमालेकै कार्यकर्ताहरुको लागि पनि ठूलो बोझ भएको छ । स्वार्थहरुको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ । यो सरकार कुनैपनि मोर्चामा सफल छैन । न राष्ट्रिय राजनीति संग्लो छ । न विदेश सम्बन्ध सन्तुलित छ । यो सरकारले जताततै भाँडभैलो र उपद्रो मच्चाएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले अर्थतन्त्र धाराशयी बनायो । देशभरि सडकहरुको कन्तबिजोग छ । तर, प्रधानमन्त्री वर्षौदेखि थालिएको कामको ग्वार्को ओभरपासलाई ‘फ्लाईओभर’ भनेर रिबन काट्न जानुहुन्छ । यो नाटक बन्द गर्नुहोस । राजमार्गमा दिउँसै बसहरु अलपत्र छन् । त्रिशुलीमा खसेका बस अहिलेसम्म अत्तोपत्तो छैन । दैनिक लाखौं जनता ओहोरदोहोर गर्ने राजमार्गहरुको हालत कस्तो छ ?’

यस्तै, आजपा अध्यक्ष साहले वीरगंजबाट तीन जना नेता संघीय सरकारमा भए पनि वजेटमा वीरगंजले न्याय नपाएको बताए । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास भए पनि त्यसो नभएकोमा उनले दुख व्यक्त गरे ।

‘वीरगंजबाट तीन–तीन जना संघीय सरकारमा मन्त्री हुनुहुन्छ । मलाई विश्वास थियो बजेटले वीरगंजलाई न्याय गर्छ । तर त्यसो भएन् । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास मलाई थियो । किनभने, यहाँबाट (वीरगंज) तीन जनता संघीय सरकारमा मन्त्री हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘तर कांग्रेसकै खेलकुद मन्त्री छ र कांग्रेसले यहाँ हस्ताक्षर अभियानको नाटक गरिरहेको छ । एकजना मन्त्रीले वीरगंजमा आउँदा अर्बौको बजेट ल्याएको भन्नुहुन्छ । तर जब काठमाडौं पुग्नुहुन्छ अनिभन्नु हुन्छ वीरगंजले बजेट नै पाएन् । यो नाटक बन्द गर्नुस् तपाईहरु ।’

यस्तै, उनले मधेसमा विद्यार्थी अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था हुनुपर्ने भए पनि सरकार मधेसका विद्यार्थीप्रति संवेदनशील नभएको बताए । विद्यार्थीको अनुपातमा शिक्षक नभएको बताउदै उनले सरकारले मधेसको शिक्षा प्रणाली नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।