अहिलेको नेतृत्वलाई निर्वाचनमार्फत पूर्णरुपमा विस्थापन गर्नुपर्छः भीम रावल


काठमाडौ, १३ असार । मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावलले नेताहरुको आचरण नसुध्रिने हो भने मुलुकले अझै अप्ठ्यारो परिस्थिति झेल्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेकै स्थिति कायम रहेको खण्डमा राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोणले पनि पछाडि धकेलिने बताएका हुन् ।

‘यदि अहिलेकै स्थिति कायम रह्यो भने, अहिलेकै नेताहरुको आचरण, भ्रष्टाचारीहरुलाई प्रश्रय दिने, आफ्नो दम्भ, अहङ्कार, तानाशाही लाद्ने, पार्टीभित्र निर्वाचन हुन नदिने, आफूलाई मन लागेको कुरामा जतिसुकै ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गर्ने, बलात्कारी, अपराधमा लागेका मान्छेलाई संरक्षण गर्ने यही यही बाटो हो भने नेपाल अझै राजनीतिक दृष्टिकोणले, आर्थिक दृष्टिकोणले, सांस्कृतिक दृष्टिकोणले अझै धेरै अप्ठ्यारोमा पर्छ,’– उनले भने ।

ेनेताहरुको आचरण यही कायम रहेको खण्डमा जनशक्ति पलायन, प्राकृतिक स्रोतको दोहन, खाद्यन्न आयतमा वृद्धि जस्ता नकरात्मक कुराहरु बृद्धि हुँदैजाने उनको भनाइ छ । नेता रावलले पूरानो नेतृत्वलाई विस्थापित गर्न आवश्यक रहेको बताए । ‘या त अहिलेको यो नेतृत्वलाई निर्वाचन वा जे–जेबाट होस् पूर्णरुपमा विस्थापन गर्नुपर्छ । या यिनले उल्लेखनीय रुपमा सुधार गर्नुपर्छ । सुध्रिने सम्भावना कम देखिन्छ । देशभक्त नेपालीहरुले कहिल्यै कसैको अधीनमा नभएको यो राष्ट्र जोगाउनका लागि देशभक्तिपूर्ण विचारबाट अगाडि बढ्नुपर्यो । त्यो गर्यो भने देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डताको रक्षा हुँदै आर्थिक समृद्धिको दिशामा जान सक्ला,’– उनले भने ।