काठमाडौं, १४ असार । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता कृपाङ्कले काम गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कृपाङ्कको बानी नहट्दा धेरै विद्यार्थी उत्तिर्ण भएको देखिएको बताएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले हिजो एसईईको रिजल्ट सार्वजनिक गरेको थियो । उक्त रिजल्ट केन्द्रीत हुँदै उनले भने, ‘पोहोरको तुलनामा सुधार भएको देखिन्छ । तर, अन्त सुधार भयो कि क्षमता सुधार भयो प्रश्न त्यहाँनेर गर्नुपर्छ । मेरो दृष्टिकोण चाहिँ के हो भने यो कृपाङ्कको बानी हटाइएन । त्यसपछि कृपाङ्कले काम गर्यो । सुधारको नतिजा भन्दा पनि सुधार गर्नुपर्छ भन्ने रहरको कुरा आयो ।’
साथै, अहिलेको परीक्षा प्रणालीअनुसार कोही पनि विद्यार्थी अनुत्तिर्ण हुनै नहुने उनको भनाइ छ । शिक्षाविद् कोइरालाले नेपाल सबै विद्यार्थी उत्तिर्ण गराउनुपर्छ भन्ने विषयतिर चिन्तन गर्ने ठाउँमा नै नपुगेको बताए । उनले भने, ‘विद्याथीले फेल हुन नै पाउन हुँदैन । क्रेडिट आवरको प्रणाली र निरन्तर मूल्याङ्कनको हाम्रो अभ्यास छ, यो दुवै अभ्यासले विद्यार्थीलाई फेल हुने अधिकार दिँदैन । मैले यो क्रेडिट पूरा गर्नुपर्छ, यही विषय पढ्नुपर्छ भन्ने जरुरी छैन भन्ने किसिमको मानसिकता बनाएर विद्यार्थीहरुलाई कमसेकम त्यसरी लानुपर्थ्यो । त्यो लानेतर्फ हामी चिन्तनशील पनि भएका छैनौं । चिन्ता त गरेकै छैनौं ।’
उनले शिक्षक विद्यार्थीको क्षमता रातारात सुधार हुनै नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईको नतिजा सुधार भएकोमा खुसी व्यक्त गरेको तर्फ पनि स्मरण गराए । उनले प्रधानमन्त्री ओलीले अब आफ्ना दलका शिक्षकहरुलाई जसरी भए पनि विद्यार्थी पास हुनुपर्ने र विद्यार्थीको क्षमता बढाउनुपर्ने भनेर निर्देशन दिन आवश्यक रहेको उनले बताए ।
‘अब बरु प्रधानमन्त्रीले के भन्नुपर्यो भनेदखि मेरा दलका शिक्षकहरु, जो शिक्षक संगठनसँग हुनुहुन्छ । उहाँहरुले विद्यार्थीलाई कुनै पनि हालतमा पास गराउनुपर्छ, उहाँहरुले विद्यार्थीको क्षमता बढाउनुपर्छ । गरिखाने शिक्षा पनि जोड्नुपर्छ भन्ने किसिमको हिम्मत चाहिँ बरु गर्नुपर्यो,’– उनले भने ।




प्रतिक्रिया