काठमाडौं, १५ असार । परराष्ट्रविद् एवं कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले आर्थिक र राजनीतिक समस्यामा अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि प्रधानमन्त्रीको स्पेन भ्रमण महत्वपूर्ण रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ‘यो आर्थिक विकासतर्फ फोकस हुने टूर हो । नेपाल अहिले आर्थिक र राजनीतिक समस्याहरुमा जेलिइराखेको बेलामा अन्तर्राष्ट्रिय सहयोग जुटाउन, नेपालले अन्तर्राष्ट्रिय दृष्टिकोण प्रष्ट गर्नका लागि यो भ्रमणको महत्त्व छ ।’
प्रधानमन्त्री र सरकारको प्रतिनिधित्व हुने सबै प्रकारका भ्रमणहरुमा इकोनोमिक एजेण्डालाई फोकस गर्न र पर्यटनलाई प्रमोट गर्ने आवश्यक रहेको उनले बताए । अल्पविकसित देशको समस्यालाई सामूहिक रुपमा कसरी समाधान गर्नुपर्छ भन्नेतर्फ नेपालले विशेष भूमिका खेल्नुपर्ने र सोच प्रस्तुत गर्नुपर्ने उनले बताए ।
परराष्ट्रविद् श्रेष्ठले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनले बताए । ‘अर्को महिनातिर जाने तयारी भइरहेको छ । दुवै छिमेकीसँग गतिशील सम्बन्ध राख्न आवश्यक छ । नेपालको भूराजनीतिक स्थिति यस्तो छ, नेपालमा लगानी आयो भने नेपालको उत्पादन संसारको दुईवटा ठूला मार्केट चाइना र इन्डियामा सजिलै जान सक्छ । यो दुईवटा कुरालाई बताएर नेपालमा उत्पादन बढाउनुपर्यो,’– उनले भने ।




प्रतिक्रिया