काठमाडौं, १५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा सक्रिय भएकी छिन् । उनले हिजो (शनिबार) मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममार्फत आफू एमालेको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी हुन् ।
कतिपयले उनको राजनीतिमा सक्रिय भएको घोषणालाई एमालेको भावी अध्यक्षको रूपमा चित्रण गर्न थालिसकेका छन् । एमालेमा अब अध्यक्ष केपी शर्मा ओली भर्सेस विद्या भण्डारी भनेर कित्ताकाट सुरु भएको छ । भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय बनाउनको लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्णायक भूमिका खेलेका छन् । हिजो उनको भाषणले पनि अध्यक्ष ओलीविरुद्ध फायर खोलेको चर्चा छ ।
भण्डारीले आफ्नो मन्तव्यमा समग्र विषयमा धारणा राखेकी थिईन् । भण्डारीले जनताको बहुदलीय जनवादको आलोकमा एमालेले आफूलाई मुलुकको राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सक्षम भएको भण्डारीको दाबी छ । उनले भनेकी छिन्,‘ज्बजले अवलम्बन गरेका राजनीतिक आर्थिक तथा सामाजिक–सांस्कृतिक नीति, दृष्टिकोण, सोचअन्तर्गत नै बितेका तीन दशकमा नेपालको राजनीति, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणामहरु देखा परेका हुन् ।’
उनले यो बीचमा मुलुकमा निरंकुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्रवामपन्थी जडसूत्रवादी चिन्तनद्धारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा (एमाले) ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको दाबी गरेकी छिन् ।
उनले विदेश सम्बन्धमा पनि खासगरी भारत र चीनसँगको सम्बन्धको बारेमा बोलेकी छिन् । भारत र चीनले गरेको सामाजिक तथा आर्थिक विकास नेपालको लागि पनि खुसीको विषय भएको उनको भनाई थियो । उनले भनेकी छिन्,‘हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरु भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यजनर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्दछ ।’
सो क्रममा उनले आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको पनि स्मरण गराएकी छिन् । उनले आफूले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको र आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनैपनि आँच आउने काम नगरेको स्पष्ट पारिन् । उनले भनिन्,‘यो किताबको खुल्ला पानाजस्तै छर्लङ्ग छ । पार्टीको विश्वासको कारणले नै म त्यो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको हुँ । यसका निम्ति म पार्टी नेतृत्व र सिंगो पार्टी परिवारलाई पूनः धन्यवाद समेत दिन चाहन्छु ।’
उनले प्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको साझा संकल्पको रुपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहको भन्दै खुशी व्यक्त गरेकी छिन् । उनले उक्त अभियानको सफलताको निम्ति पनि शुभकामना दिएकी छिन् । file photo




प्रतिक्रिया