कम्युनिष्टहरुको नैतिक उचाइ बुर्जुवाहरुको घुँडासम्म पनि रहेनछः सुदन किराती


काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले कम्युनिष्टहरुको नैतिक उचाई बुर्जुवाहरुको घुँडा–घुँडासम्म पनि रहेको टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयतर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामी कम्युनिष्टहरुको नैतिक उच्चाई हामीले नै भन्दै गरेको बुर्जुवाहरुको घुँडाघुँडा सम्म पनि रहेनछौं। सन् १७९३ मा अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिंटनको आफ्नो एक कार्यकाल समय अवधी समाप्त भएसंगै उहाँलाई सबै क्षेत्रबाट दवाब आयो फेरि एक पटक राष्ट्रपतिको जिम्मेवारी लिएर देशको नेतृत्व गरिदिनु पऱ्यो । तर उहाँ केहि गर्दा पनि मान्नु भएन । चौतर्फि दबाब बढ्दै गयो । दबाबको सामना गर्न नसकेर उहाँले भन्नुभयो– तपाईहरु समक्ष मेरो एउटा सर्त छ । सबैले सोधे, त्यो सर्त के हो ? र उहाँले उत्तर दिनुभयो–अमेरिकाको ईतिहासमा यो मेरो दोश्रो कार्यकाल मात्र हुनेछ । फेरि तेश्रो पटक पनि राष्ट्रपति बन भनेर भन्नुहुन्न भने म यस पटक तपाईहरुको अनुरोधलाई स्वीकार्छु । त्यही नैतिकता संस्कृति बन्न गयो,’– नेता किरातीले भनेका छन्, ‘धेरैपछि २७ फेब्रुरी १९५१ मा २३औँ संशोधनबाट मात्र अमेरिकाको संविधानमा राष्ट्रपतिको कार्यकाल दुई पटक मात्र हुने प्रावधान राखियो ।’

नेपाली राजनीतिमा राज्यले दिएको सुविधा उपयोग गर्दै सम्माननीयहरुको असम्माननीय बन्ने होडबाजी चलेको उनले बताएका छन् । उनले कम्युनिष्ट पार्टीभित्र विचलन आएको पनि दाबी गरेका छन् ।