रामकुमारी झाँक्रीको उदय नै नक्कली स्टण्टबाजी गरेर भएको होः सुदेश पराजुली


काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य सुदेश पराजुलीले पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । हिजो (शनिबार) पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यही अवस्थामा पार्टी लिएर जाँदा पार्टी नै विघटन हुनसक्ने खतरा औंल्याएकी थिईन् । उनले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि गम्भीर नैतिक संकट आइपरेको बताउँदै अर्ली महाधिवेशनबाट नेतृत्व चयन गरिनुपर्ने बताएकी थिईन् । पार्टी अध्यक्ष नेपाललक्षित गर्दै उनले अब मरेको सिनो काँधमा हालेर हिँड्न नहुने बताएकी थिईन् ।

झाँक्रीको टिप्पणी खण्डन गर्दै पराजुलीले उनमा विक्षिप्त मानसिकता रहेको बताएका छन् । ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजो देखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होईन की जस्त्तो गरेर , कहिले कुनै नेतालाई भ्रममा परेर , कहिले सामाजिक दुनियालाई प्रयोग गरेर , कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।’ उनले भनेका छन्, ‘कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी’ यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकताको विश्वास गरेर हामी मुर्ख नबनौं ।’