काठमाडौं, १५ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले निजामती विद्येयक गरिव, निमुखामारा भएको भन्दै च्यातेका छन् । प्रतिनिधिसभाको बैठकमा छलफलको लागि पेश गरिएको विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा उनले विद्येयक पारित भयो भने देशमा आगो बल्ने चेतावनी दिए ।
सांसद साहले भने,‘यो गरिबमारा विधेयक यदि पारित भयो भने देशमा आगो बल्छ । गरिवको भाग्य र भविष्यलाई कत्लेआम गर्नेगरि आएको यो निजामती विद्येयक हामीलाई स्विकार्य छैन । यदि यो आज पारित भयो भने गरिवको लागि आज कालोदिन हुनेछ । यसका मतियारहरुलाई गरिबले कहिल्यैपनि माफी दिने छैनन् ।’
साहले सरकारी जागिरमा गरिबलाई मात्रै किन प्रवेश निषेध गरेको ? भनेर प्रश्न गरे । उनले भने,‘गरिबलाई लोकसेवाको अधिकारबाट किन बञ्चित गर्नुभयो ? नेपालको संविधानले त समानतालाई मौलिक हक भनेको छ । तपाईंहरुले नै बनाएको यो संविधानलाई उल्लंघन गर्दा लाज लाग्यो कि लागेन ? भनेर सोध्न चाहन्छु । सरकार भनेको सबैको लागि समान होईन ? यदि हो भने तल्लो तहमा काम गर्नेहरु के स्थायी हुनु हुँदैन र ? उसको निश्पक्ष छनौट हुनु हुँदैन र ? दास र मालिकको जमाना त हामीले उहिल्यै अन्त्य गरिसकेका छौं । तपाईंहरुले फेरि नयाँ पूनरावृत्ति गर्नुभयो । ठूलाबडाहरुले स्थायी हुनुपर्ने, ६० वर्षसम्म ग्यारेन्टी जीवन बाँच्नुपर्ने । तर, तल्लो लेभलमा काम गर्नेहरु ६–६ महिनामा तपाईंहरुको आर्शिवादमा बाँच्नुपर्ने ? निगाहमा बाँच्नुपर्ने ? दासताको जीवन बाँच्नुपर्ने ? हँशिया हतौडाको झण्डा बोकेर आफूलाई कम्युनिष्ट भन्न लाज लाग्दैन ?’
साहले प्रधानमन्त्रीले सुविधा पाउने तर पियनले सुविधा नपाएको भन्दै गुनासो पोखे । उनले भने,‘प्रधानमन्त्रीले सुविधा पाउनुहुन्छ, तर पियनले पाउनुपर्छ कि पर्दैन ? डाईरेक्टरहरुले सुविधा पाउनुहुन्छ, ड्राईभरहरुले पाउनुपर्छ कि पर्दैन ? सचिवजीहरुले के के न के पाउनुहुन्छ, तर त्यही ठाउँका स्विपरहरुले पाउनुपर्छ कि पर्दैन ? यहाँ अनर्थ भएको छ । म फेरि भन्छु यो विद्येयक करेक्सन गरियोस । फिर्ता लिईयोस । यो विद्येयक यसरी नै पारित गरियो भने गरिब जनतालाई स्विकार्य छैन । प्रभु साहलाई स्विकार्य छैन। आम जनतालाई अत्याचार हुने यो त सामाजिक न्यायको पनि बर्खिलाप हो ।’




प्रतिक्रिया