काठमाडौं, १६ असार । पूर्वमुख्यसचिव डा.विमल कोइरालाले निजामती सेवा विधेयकमा कर्मचारीको फाइदा बेफाइदाभन्दा पनि राष्ट्रको फाइदा हेरिनुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीतन्त्रलाई परिचालन गरेर राष्ट्र विकासमा उत्प्रेरित गर्न सकिनेतर्फ निजामती सेवा विधेकमा विचार गरिनुपर्ने बताएका हुन् ।
‘निजामति सेवा विधेयकमा कर्मचारीलाई फाइदा बेफाइदा भन्दा पनि मुलुकलाई फाइदा बेफाइदा हेर्नुपर्छ । कर्मचारीतन्त्रलाई परिचालन गरेर राष्ट्र विकासमा उत्प्रेरित गर्न सकिन्छ, सकिँदैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । कर्मचारीतन्त्रको फाइदा, बेफाइदा चाहिँ हेर्ने कुरा भएन,’– उनले भने ।
साथै, २ वर्षे कुलिङ पिरियड उपयुक्त रहेको उनको भनाइ छ । यसले पद साटासाट गर्ने बेथितिलाई अन्त्य गराउने उनले विश्वास व्यक्त गरे । निजामती सेवा विधेयक आउन १० वर्ष लागेको बताउँदै उनले यसमै खुसी हुनुपर्ने आवश्यकता रहेको बताए ।
‘कुलिङ पिरियडले नै सबै कुरा सुल्झाउने त होइन । तर, धेरै बेथिति भयो । एउटालाई मन परेकोलाई ल्याउने, पद साटासाट गर्ने प्रवृत्ति बढ्यो । अनि त्यसलाई रोक्नलाई यो कुलिङ पिरियडले पूर्ण रुपमा रोक्न त सक्दैन । तर, त्यसलाई मत्थर पार्छ भनेर जुन प्रस्ताव गरियो । त्यो मलाई पनि राम्रै लागेको हो । कुलिङ पिरियड राख्दाखेरी केही थिति बसिहाल्छ कि भन्ने हो । त्यो ठीकै भयो । आफूलाई मर्का पर्ने दृष्टिकोणले मात्रै हेर्नु भएन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया