काठमाडौं, १६ असार । नेपाली कांग्रेसका केन्दीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको समीक्षा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समिति बैठकमा स्थानीय, प्रदेश र केन्द्र सरकारको बारेमा समीक्षा हुने बताएका हुन् । उनले अहिले तीनै तहको सरकार थोरै मान्छेका लागिमात्रै भयो भन्ने बहस आम नेता तथा कार्यकर्ताहरुमा रहेको उनको भनाइ छ ।
‘सरकारको बारेमा समीक्षा हुन्छ, तीनै तहको सरकारको बारेमा हुन्छ । तीनै तहको सरकार थोरै मान्छेका लागिमात्रै भयो कि भन्ने कार्यकर्ता र पब्लिकलाई परेको छ, निश्चित मान्छेको वरिपरी घुम्यो कि भन्ने लागेको छ । त्यसका बारेमा समीक्षा हुन्छ,’– उनले भने ।
साथै, पार्टी पदाधिकारी बैठकमा आधारमा सञ्चालन भइरहेको उनले टिप्पणी गरे । कांग्रेस पदाधिकारी बैठकलाई विधानले नचिन्ने उनको दाबी छ । उनले यसरी पदाधिकारी बैठकको आधारमा पार्टी सञ्चालन हुनु गलत रहेको बताए । कांग्रेस केन्द्रीय समिति बैठक ११ महिनापछि बस्दैछ । सरकार सञ्चालनको सन्दर्भमा बनेको संयन्त्रलाई संविधानले नचिन्ने पनि उनले टिप्पणी गरे ।
‘अहिले सरकार सञ्चालनको सन्दर्भमा संयन्त्रले सहयोग गर्ने, संयन्त्रलाई प्रभावकारी बनाउने भनिएको छ । जुन नेपालको संविधानले चिन्दैन । पार्टी चाहिँ पदाधिकारी बैठकको निर्णयले सञ्चालन भइरहेको छ । पदाधिकारी बैठकलाई पनि नेपाली कांग्रेसको विधानले चिन्दैन । प्रक्रियागत रुपमा त्रुटी भएका छन् । यसलाई हामी मिलाउँछौं,’– उनले भने ।
पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रियागत रुपले नभएको उनले बताए । दिइएको समय तालिकाभित्र ती कामहरु नगरिएको बारेमा पनि छलफल हुने उनले बताए । त्यस्तै, पार्टीको भातृ संस्था र सुभेच्छुक संस्थाहरुलाई पनि महाधिवेशन उन्मुख गराउनेतर्फ आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक केन्द्रीत हुने उनको भनाइ छ ।




प्रतिक्रिया