देउवालाई शेखरको प्रश्नः संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?


काठमाडौं, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले प्रश्नैपश्न गरेका छन् । उनले गठबन्धन निर्माण, एमालेको नेतृत्वमा सरकार र सरकारका कार्यशैलीलाई लिएर प्रश्न गरेका हुन् । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई गठनबन्धनको औचित्यबारे प्रश्न गरेका थिए । ‘यदि संविधान संशोधनको लागि गठबन्धन बनेको भए त्यो काम कहाँ पुग्यो ?’ भन्दै उनले प्रश्न गरेका छन् ?

‘कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियरलाई राख्नुपर्ने धारणा राखे । अहिले अनुशासन समितिमा रहेकाहरु कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्यलाई एउटा चिठ्ठीसम्म पनि काट्न नसक्ने कमजोर रहेको उनको टिप्पणी थियो । उनीहरुले ‘तपाईँका विरुद्ध यस्तो उजुरी छ, के हो’ भनेर सोध्न सक्ने हैसियत पनि नराख्ने नेता कोइरालाले बताए ।

आजको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा.कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा.गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका थिए ।