काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य डा.चन्दा कार्की भण्डारीले भ्रष्टाचार रोक्न र सत्ता, सेवा सुविधाबीचको चक्र तोड्न निजामती सेवा विधेयकमा कुलिङ पिरियड आवश्यक रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतीले पारित भएको विधेयकको व्यवस्थामाथि चलखेल भएको उनको दाबी छ । उनले निजामति सेवा विधेयकमा भएको चलखेललाई गम्भीर प्रक्रियागत विचलनको संज्ञा दिईन् ।
‘संघीय निजामती सेवा विधेयकमा समितिको निर्णयमाथि चलखेल भएको छ । यो एउटा प्रक्रिया नै अपमानित भएको छ । म प्रतिनिधिसभाको सदस्य र राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको हैसियतले प्रष्ट रुपमा के भन्न चाहन्छु भने संघीय निजामती सेवा विधेयकमा भएको फेरबदल गम्भीर प्रक्रियागत विचलन हो । समितिमा विस्तृत छलफलपछि हामी सबै सहमत थियौं राजीनामा वा अवकाश पाएका कर्मचारीहरु २ वर्षसम्म नियुक्ति नहुने । त्यसलाई कुलिङ पिरियडको व्यवस्था आवश्यक हुन्छ । भ्रष्टाचार रोक्न र सत्ता सेवा सुविधाबीचको चक्र तोड्न कुलिङ पिरियड आवश्यक थियो । गृहमन्त्रीज्यूले पनि समर्थन जनाउनुभएको थियो । तर, प्रतिनिधिसभाबाट पारित विधेयकमा चाही बाहेक भन्ने शब्द घु्साएर त्यो व्यवस्था निस्प्रभाबी बनाइएको छ,’– उनले भनिन् ।
उनले निजामती सेवा विधेयकमा उल्लेख भएको बाहेक शब्द सामान्य भूल नभएर नियोजित चलखेल रहेको उनले बताईन् । उक्त विधेयकमा उल्लेख भएको व्यवस्थाले संसद्को गरिमा र पारदर्शी प्रक्रियामाथि हस्तक्षेप भएको बताईन् । उनले यस घटनालाई लोकतान्त्रिक विधिमाथिको विश्वास घातको रुपमा लिन सकिने बताईन् ।
विधेयकमाथि जोसुकैले चलखेल गरेको भए पनि छानविन हुनुपर्ने र कुलिङ पिरियडको व्यवस्था पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया