काठमाडौं, १८ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले सांसदहरुलाई जनताले भेडाबाख्राजस्ता रहेछन् भन्न थालेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको आकस्मिक बैठकलाई सम्बोधन गर्दै उनले अहिले सडकमा सांसदको लोगो लगाएर हिँड्दाखेरी जनताले पढ्दा पनि नपढ्ने रहेछन्, त्यसै पास भन्दारहेछन् जस्ता टिप्पणी गर्ने गरेको उनले बताए ।
उनले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको फेरबदल सामान्य त्रुटी हो कि बदमासी र षड्यन्त्र हो भन्ने पत्ता लगाउन आवश्यक रहेको बताए । उनले यस विषयमा आवश्यक छानविन हुनुपर्ने आवश्यकता औंल्याए । ‘यसको राम्रो छानविन हुनु जरुरी छ । अहिले हामी यो लोगो लगाएर सडकमा हिँड्दा यिनीहरुले के ऐन बनाउँछन्, पढ्दा पनि पढ्दारहेनछन्, त्यसै पास भन्दारहेछन्, भेडाबाख्राजस्ता रहेछन् । हाम्रो बारेमा अहिले जनताले गर्ने टिप्पणी यही हो । हाम्रो विश्वसनीयतामा अन्तयन्त ठूलो ह्रास आयो । हामी अविश्वासी भएका छौं । हामीले जनताप्रति बेइमानी गरेका छौं कि ? भनेर प्रश्न गर्नुपर्ने स्थिति बनेको छ,’– उनले भने ।
साथै, निजामती सेवाका उच्च पदस्थ कर्मचारीहरु कुलिङ पिरियड रोक्नका लागि लागिपरेको उनले बताए ।




प्रतिक्रिया