काठमाडौं, १८ असार । नेकपा (एमाले) का सांसदहरु पदम गिरी, वासुदेव घिमिरे र राजेन्द्र राईले संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् । उनीहरुले सभापति खतिवडासँगै समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा मागेका छन् ।
एमाले सांसदहरुले अब खतिवडाको नेतृत्वमा समितिमा बस्न नसकिनेसमेत भनेका छन् । संघीय निजामती सेवासम्बन्धी विधेयकमा राखेको ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामाथि जालझेल गर्न सभापति खतिवडा र सचिव दुराको हात रहेको उनीहरुको आरोप छ । अब यो प्रकरणमा अधिकारयुक्त छानबिन समिति बनाउनुपर्ने उनीहरुको मत छ ।
सांसद घिमिरेले छानबिन समितिको माग गर्दै अब सभापति रामहरि खतिवडा र सचिव दूराले राजीनामा दिनुपर्ने धारणा राखे । यस्तै, पूर्व खानेपानीमन्त्री समेत रहेका एमाले सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको भूमिकामाथि नै प्रश्न उठाए ।
उनले पनि खतिवडाको राजीनामा मागे । उनले भने,‘सभापतिज्यू, अब तपाईंले यो जिम्मेवारी छोड्नुपर्छ । तपाईंलाई यो सार्वभौम समितिको अपमान गर्ने अधिकार छैन ।’ उनले सो क्रममा सचिव दुरालाई कसले फसाएको हो ? भनेर सोधे ।




प्रतिक्रिया