सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप, कोर टिमबारे सोधे


काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नै संघीय निजामती सेवा विद्येयकका सम्बन्धमा मनपरी गरेको आरोप लगाएका छन् । उनले सभापति खतिवडालाई कसको दबाबमा यस्तो चलखेल गर्नुभयो ? भनेर कडा प्रश्न राखेका थिए ।

आज (बुधबार) बसेको समितिको आकस्मिक बैठकमा बोल्दै उनले समितिका सचिव सुरज कुमार दुरालाई पनि प्रश्न गरे । उनले सचिवलाई नपढी हस्तक्षर गरेको हो भन्दै सोधेका छन् । उनले भने,‘तपाईंले नपढीकन सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो ? दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’

थानीले सभापति खतिवडाले मनपरी गरेको भन्दै आक्रोश पोखे । उनले यसरी विद्येयकमाथि चलखेल गर्दाको कोर टिममा को को छन् भनेर सार्वजनिक गर्नसमेत सभापति खतिवडालाई आग्रह गरे । उनले भने,‘सभापतिजी, तपाईंको कोर टिम को हो ? आज भनिदिनुहो, तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ उनले पनि यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।