कुलिङ पिरियडको चलखेलबारे माओवादीको धारणाः यो एकाध व्यक्तिले गरेको दुस्साहस होइन


काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) ले निजामती सेवा विधेयकको कुलिङ पिरियडका सन्दर्भमा भएको बेइमानीलाई ‘सुनियोजित तरिकाले गरिएको धृष्टता’ को संज्ञा दिएको छ । माओवादीले उक्त कार्यलाई गम्भीर प्रकृतिको अपराधको रुपमा लिँदै छानविन गरी कारबाहीको माग गरेको छ ।

‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ,’– माओवादीले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिनिधिसभाबाट पारित भएको निजामती सेवा विधेयकको दफा ८२ (५) (क) मा संसदीय समितिले पारित गरेको भन्दा फरक व्यवस्था राखिएको छ । यसका कारण दफा ८२ (४) को व्यवस्था निस्प्रभाबी भएको छ । माओवादीले सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधि प्रावधान कसले थप्यो ? भन्ने कुराको छानविन हुनुपर्ने आवश्यकता औंल्याएको छ । जालसाँजीपूर्ण उक्त घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको माओवादीको बुझाइ रहेको छ ।

‘यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न हो । यसले सार्वभौम संसदको आत्मामाथि सिधै प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ । सुशासनका लागि कोशेढुङ्गा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाँजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ,’– माओवादीले भनेको छ ।