रामकुमारी झाँक्रीको प्रष्टोक्तिः मलाई पार्टीले स्पष्टीकरण सोधेको छैन


काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) कि नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको बताएकी छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले स्पष्टीकरण सोधिएको भन्ने आफूले मिडियातिरबाट थाहा पाएको बताईन् । आफूले बोलेको कुरालाई लिएर आजसम्म स्पष्टीकरण नसोधिएको उनको भनाइ छ ।

‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियातिर सोध्नुभएको रहेछ । मलाई स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज मिडियामा बिहानभरी त्यही कुरा सुनेँ । उहाँहरुले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भनेको सुनेको थिएँ । मैले बोलेको कन्टेनको हिसाबले । फेरि पार्टीले १५ गते यसको विषयमा क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनप्रश्चात उहाँहरुलाई प्रोत्साहन नै गरेजस्तो । भयङ्कर नै गरेजस्तो,’– उनले भनिन् ।

आफूलाई स्पष्टीकरण सोधिएको बारेमा कुनै जानकारी पनि नआएको, केही पार्टी पदाधिकारीले भने टेलिभिजनतिर भयङ्कर नै भयोजस्तो गरी बोल्दै हिँडेको उनले बताईन् । आज आफ्नो कुरा क्लियर पार्नका लागि पार्टी सचिवालय बैठकमा समय माग गरेको उनले बताईन् ।

‘के हो त ? स्पष्टीकरण मलाई पनि नसोध्ने । बाहिर–बाहिर सोध्ने । के हो कुरा । तपाईँहरुको बैठकमा मलाई बोलाउनुस् म त्यसको जवाफ सविस्तार दिन्छु । मेरो भनाइ के हो, कसरी हो भन्ने म बोल्छु । आजकै सचिवालय बैठकमा बोलाउनुस्, मेरो विषय प्रष्ट गर्छु भनेर निवेदन लिएर आएको हुँ,’– उनले भनिन् ।

आफूलाई स्पटीकरण सोधिएको भनेको कुरा निराधार, कपोकल्पित र हावा रहेको उनको भनाइ छ ।