काठमाडौं, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको सम्मान हुनु पर्ने बताए । उनले पार्टीभित्र अनुशासनको कारबाही ३÷४ महिनाभित्र टुंग्याउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘२१औँ शताब्दीमा अनुशासनको नाममा ३÷४ वर्षसम्म कारबाही लम्ब्याइयो भने पार्टी कमजोर हुन्छ । गुटको आधारमा कारबाही गरियो भने पनि पार्टीको एकता खल्बलिन्छ ।’
पूर्व मन्त्रीसमेत रहेका गिरीले सन्त नेता किसुनजीले विगतका कमजोरीहरूलाई बिर्सेर आममाफीको नीति अवलम्बन गरेको उदाहरण दिँदै साना–तिना कमजोरीलाई सुधार्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
पार्टीमा सबैको योगदानको कदर गर्नुपर्ने बताउँदै गिरीले कसैको जवानी र जिन्दगीको लगानी, त कसैको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाएको उल्लेख गरे । उनले महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, र गौरी दिदीजस्ता व्यक्तित्वले गरेको आर्थिक सहयोगको चर्चा गर्दै उनीहरूले कहिल्यै श्रेय नखोजेको स्मरण गरे ।
मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस ठूलो दल र सरकारमा रहेको हुनाले सबैसँग सहमति र सहकार्य अपरिहार्य भएको उनले बताए । इतिहास बोकेको पार्टीले सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
‘वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन। कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने परम्परा देखियो । जुन गलत हो,’– गिरीले भने।
उनले आफूले दाङ्गको ऐतिहासिक टरीगाउँ विमानस्थलको विस्तारका लागि तीन वर्षदेखि संसदमा बोल्दै आएको स्मरण गराए । सो एयरपोर्टको जग्गा अधिग्रहण गर्नको लागि झन्डै ९० करोड रुपैयाँ चाहिनेमा सरकारले यो वर्षको बजेटमा जम्मा एक करोड छुट्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘यो दंगाली जनताको अपमान हो, यदि यो सरकारले काम गर्न सक्दैन भने हामी अर्को विकल्पमा जान पनि तयार हुनु पर्छ,’– उनले भने ।




प्रतिक्रिया