काठमाडौं, २७ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारमा जान खुट्टा उचालेको भनेर आरोप लागेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत अहिलेको कांग्रेस–एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई दिएको निर्देशन अझैसम्म कार्यान्वयन नभएपछि अध्यक्ष यादवमाथि यस्तो आरोप लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारको एक वर्ष पुग्दैछ ।
यादवले सरकारमा सहभागी नभईकन यो सरकारलाई विश्वासको मत दिएका हुन् । तर, एक वर्ष पुग्नै लाग्दा यादवले अब यो सरकारको कुनै काम नभएको भन्दै समर्थन फिर्ता लिने घोषणा गरेका थिए । यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकअगावै सार्वजनिक रुपमै सरकारलाई दिएको समर्थन फिर्ता लिन औपचारिकतामात्रै बाँकी रहेको घोषणा गरेका थिए ।
पछि लगत्तै बसेको कार्यकारिणी समितिको बैठकले पनि त्यस्तै निर्णय लिन संसदीय दललाई निर्देशन दिएको थियो । तर, बैठक सकिएको झण्डै दुई साता बित्न लाग्दापनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेन । संसदीय दलको बैठकले समर्थन फिर्ताको निर्णय लिन नसकेको नेताहरुले प्रतिक्रिया दिए । त्यसपछि अध्यक्ष यादवमाथि सरकारमा जान खुट्टा उचालेर बसेको भन्ने आरोप सोसल मिडियामा लाग्न थालेको छ ।
यद्धपी यादवले यो विषयमा सार्वजनिक रुपमा कुनै खण्डन गरेका छैनन् । तर, जसपा नेपालका प्रभावशाली नेताहरुले भने आफ्नो दल सरकारमा जाने तयारीमा नरहेको स्पष्ट पारेका छन् । कतिपयले वरिष्ठ नेता राजकिशोर यादवलाई सरकारमा पठाउन खोजिएको भनेरपनि हल्ला गरेका छन् । तर, स्वयम राजकिशोरले भने यसमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन् । उनले यस्तो समाचारमा कुनै सत्यता नभएको भन्दै फेकको संज्ञा दिएका छन् ।
उता, नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर, नाउपाबाट सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुण चौधरीले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ दुवै जना यतिवेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा छन् ।
नाउपालाई पनि अब एउटा मन्त्रालय दिएर अघि बढाउने बालुवाटारको तयारी छ । प्रधानमन्त्री ओली छिट्टै मन्त्रिपरिषद् पूनर्गठन गर्दैछन् । त्यसमै नाउपालाई पनि समेट्ने प्रधानमन्त्री ओलीको चाहना छ । त्यस्तो अवस्थामा अध्यक्ष रञ्जिता श्रेष्ठ नै मन्त्री बन्नसक्ने चर्चा अहिले चलिरहेको छ । file photo




प्रतिक्रिया