नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौंः झलनाथ खनाल


काठमाडौं, २७ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमि चीनको विरुद्धमा कुनै पनि हालतमा प्रयोग हुन नदिने बताएका छन् । ‘ग्लोबल सिभिलाइजेशन डाइलग’ मा भाग लिने क्रममा सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

‘हामी नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं। हामी नेपाली र चिनियाँ दाजुभाइ दिदीबहिनी हौं। हामी हाम्रो सम्बन्धलाई चिर पर्यन्तकालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौं,’– उनले भने ।

खनालले नेपाल–चीन निकटतम छिमेकी मात्र नभएर घनिष्ठतम मित्र रहेको बताए । उनले नेपाल–चीन एकअर्काका विश्वसनीय सहयोगी, विकास र समृद्धिका लागि भरपर्दा साझेदार रहेको बताए । नेपाल र चीनले ठूलो र सानो देशबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमुना प्रस्तुत गर्न सकेको उनको भनाइ छ ।

साथै, उनले ताइवान र तिब्बत चीनका अविभाज्य अङ्ग हुन् भन्ने कुरामा नेपाल दृढ रहेको पनि बताए ।
सम्मानित नेता खनालको सम्बोधनको पूर्णपाठ

विश्व सभ्यता संवाद आयोजक कमिटीका अध्यक्ष महोदय,
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख महामहिम लिउ जियानचाओ,
विशिष्ट अतिथिहरू, प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द,
सर्वप्रथम, मानव जातिको साझा भविष्यका लागि समर्पित यो ऐतिहासिक “Global Civilization Dialogue’ मा मलाई आमन्त्रण गरी “Jointly Advocating the Promotion of the Common Values of Humanity’ मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन” जस्तो गहन र सामयिक विषयमा विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा म चिनियाँ कम्युनिष्ट पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु।
प्रिय मित्रहरू,
मानव जातिको विकासको इतिहास वस्तुतः सभ्यताहरूको विकासको इतिहास हो। करिब १२ हजार वर्षअघि, जब मानव समाजले सिकारी जीवनबाट माथि उठेर नदीका उर्वर किनारहरूमा कृषि युगको सुरुवात गर्‍यो, त्यहीँबाट आधुनिक मानव सभ्यताको भव्य यात्रा आरम्भ भयो। नाइल, सिन्धु, ह्वाङ हो वा अन्य नदी किनारमा हुर्किएका यी सभ्यताहरू सुरुदेखि नै विविधताले भरिपूर्ण थिए। यिनीहरूका आ-आफ्नै भाषा, संस्कृति, कला, दर्शन र जीवनशैली थिए। वास्तवमा, यी सभ्यताहरू मानवतारूपी एउटा विशाल र रङ्गीन फूलबारीका अलग-अलग सुवास र सौन्दर्य बोकेका अनुपम फूलहरू हुन्। यिनै विविध सभ्यताहरूको आपसी अन्तरक्रिया, आदान-प्रदान र सिकाइबाटै आजको आधुनिक विश्व निर्माण भएको हो। तर, दुःखको कुरा, पछिल्ला शताब्दीहरूमा केही पश्चिमा संसारमा आफूलाई सर्वश्रेष्ठ ठान्ने र आफ्नो सभ्यतालाई विश्वव्यापी मानकको रूपमा स्थापित गर्न खोज्ने प्रवृत्ति देखियो। यही प्रभुत्ववादी सोचबाट ‘सभ्यताहरूको द्वन्द्व’ (Clash of Civilizations) जस्ता विभाजनकारी सिद्धान्तहरू जन्मिए, जसले विश्वमा अविश्वास र तनाव बढाउने काम गरेको छ। तर आजको २१औं शताब्दीको वास्तविकता र आवश्यकता बिल्कुल फरक छ। आजको विश्व बहुध्रुवीय र बहु-सभ्यतायुक्त बन्दै गइरहेको छ। कुनै पनि एउटा सभ्यता अर्कोभन्दा उच्च वा निम्न हुँदैन। सबै सभ्यताहरू समान छन्, मौलिक छन् र सबैको आफ्नै गरिमा छ। तसर्थ, आजको आवश्यकता द्वन्द्व होइन, संवाद हो। प्रभुत्व होइन, साझेदारी हो। एक-अर्कालाई सम्मान गर्दै, एक-अर्काबाट सिक्दै र विकासमा सहकार्य गर्दै अघि बढ्नु नै मानवताको साझा हितमा छ। यही विश्वव्यापी आवश्यकतालाई गहिरोसँग आत्मसात् गर्दै महामहिम राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको विश्व सभ्यता पहल (Global Civilization Initiative) एक ऐतिहासिक, दूरदर्शी र मानवतावादी पहल हो। यसले सभ्यताहरूबीच समानता, आपसी सिकाइ, संवाद र समावेशिताको सम्मान गर्ने जुन आह्वान गरेको छ, त्यो पश्चिमाहरूले निर्माण गरेको ‘सभ्यताहरूको द्वन्द्व’ को विभाजनकारी सोचको सबैभन्दा शक्तिशाली र रचनात्मक जवाफ हो। यही पहलले हामीलाई एकै ठाउँमा ल्याएर संवाद गर्न प्रेरित गरेको छ, जसको म हृदयदेखि नै सराहना गर्दछु।
प्रिय कमरेडहरू,
विभिन्न सभ्यताहरूको कुरा गरिरहँदा मानव सभ्यताको एक प्राचीन उद्गम भूमिको रूपमा मान्यता पाएको मेरो देश नेपालको प्रसङ्ग यहाँ जोड्नु मैले सान्दर्भिक ठानेको छु। जुन स्वयंमा सभ्यताहरूको संगमस्थल हो। नेपाली भूमिमा करिब १ करोड २० लाख वर्ष पुरानो नरवानर ‘रामापिथेकस’को अवशेष प्राप्त हुनुले यहाँको प्रागैतिहासिक मानव उपस्थितिलाई पुष्टि गर्दछ। यसका अतिरिक्त, विभिन्न स्थानमा उत्खनन गरिएका पुरापाषाण एवं नवपाषाणकालीन ढुङ्गे औजारहरूले यस क्षेत्रको अविच्छिन्न सभ्यता विकासक्रमलाई दर्शाउँछन्। यही विकास क्रममा, नेपाली भूमीमा मातृसत्तात्मक समाज हुँदै इसापूर्व दोस्रो सहस्राब्दीतिर विदेह, शाक्य, कोलिय र किराँत जस्ता फरकफरक सभ्यताका गणराज्यहरू (Republics) को विकास भएको पाइन्छ। यही भूमिमा जनकपुरमा जनक र सीताको मिथिला सभ्यता फस्टायो भने लुम्बिनीमा शाक्य गणतन्त्रमा मानवतावादी दार्शनिक गौतम बुद्धको जन्म भयो। बुद्धले दिनुभएको शान्ति, अहिंसा, करुणा र प्रज्ञाको दर्शन नेपाली प्राचीन सभ्यताले विश्वलाई दिएको सबैभन्दा ठूलो र अमूल्य उपहार हो। बुद्ध दर्शन नेपालबाटै भारत हुँदै चीन, श्रीलंका, जापान, कोरिया र दक्षिण-पूर्वी एसियाभरि फैलियो, जसले करोडौं मानिसको जीवन र विश्व सभ्यतालाई नै रूपान्तरण गर्‍यो। यही सभ्यताको विस्तारको क्रममा नेपाल र चीनबीचको सम्बन्धले हजारौं वर्ष पुरानो सांस्कृतिक र भावनात्मक आकार ग्रहण गर्‍यो। हाम्रो काठमाडौँ उपत्यकाको निर्माण नै चीनबाट आउनुभएका बोधिसत्व मञ्जुश्रीले गर्नुभएको किंवदन्तीले हाम्रो सम्बन्धको गहिराइलाई दर्शाउँछ।
पाँचौँ शताब्दीमा, बुद्धको जन्मस्थल कपिलवस्तुका नेपाली भिक्षु बुद्धभद्र एक महान् सांस्कृतिक दूत बनेर चीन आउनुभयो। उहाँले आफ्नो सम्पूर्ण जीवन चीनमै बिताउनुभयो र बुद्धका १५ भन्दा बढी महत्त्वपूर्ण ग्रन्थहरूलाई चिनियाँ भाषामा अनुवाद गरेर दुई महान् सभ्यताबीच ज्ञानको पुल निर्माण गर्नुभयो।
सातौँ शताब्दीमा, हाम्री राष्ट्रिय विभूति, राजकुमारी भृकुटीले तिब्बतका राजा सोङचोङ गम्पोसँग विवाह गरेर हिमालयपारि बुद्ध धर्मको ज्योति फैलाउनुभयो, जसले चीनसम्म बौद्ध संस्कृतिको विस्तारमा अतुलनीय भूमिका खेल्यो।
तेह्रौँ शताब्दीमा, महान् कलाकार र वास्तुविद् अरनिकोलाई सम्राट कुब्लाई खानले राजकीय सम्मानका साथ चीनमा आमन्त्रण गर्नुभयो। उहाँले निर्माण गर्नुभएको बेइजिङस्थित श्वेत चैत्य (White Stupa) मात्र होइन, उहाँद्वारा निर्मित अनेकौं कलाकृतिहरूले पनि चीनको सांस्कृतिक वैभवलाई समृद्ध बनाएका छन्। अरनिकोको कलाकृति नेपाल र चीनबीचको मित्रताको भौतिक प्रमाण हो यी ऐतिहासिक सम्बन्धहरूले हामीलाई सधैं एक-अर्काको सभ्यता र संस्कृतिबाट सिक्न र एक-अर्काको सम्मान गर्न प्रेरित गरेका छन्। यी ऐतिहासिक सम्बन्धहरूले हामीलाई सधैं एक-अर्काको सभ्यताबाट सिक्न र सम्मान गर्न प्रेरित गरेका छन्।
अन्त्यमा,
चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माणको प्रक्रिया सुरु भएपछि हाम्रो सम्बन्धले नयाँ र बहुआयामिक उचाइ प्राप्त गरेको छ। आज हामी:

  • निकटतम छिमेकी मात्र होइन, घनिष्ठतम मित्र बनेका छौं।
  • एक-अर्काका विश्वसनीय सहयोगी बनेका छौं।
  • विकास र समृद्धिका लागि भरपर्दा साझेदार बनेका छौं।
  • हामीले ठूलो र सानो देशबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमुना प्रस्तुत गरेका छौं।
  • हाम्रा सिमानाहरू शान्तिका सिमाना बनेका छन्।
  • नेपाल एक-चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध र अडिग छ। हामी ताइवान र तिब्बत चीनका अविभाज्य अङ्ग हुन् भन्ने कुरामा दृढ छौं। हामी नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं। हामी नेपाली र चिनियाँ दाजुभाइ-दिदीबहिनी हौं। हामी हाम्रो सम्बन्धलाई चिर पर्यन्तकालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौं।
    अन्त्यमा, म यहाँ उपस्थित सबैलाई आह्वान गर्न चाहन्छु: आउनुहोस्, हामी सबै एकजुट भएर सभ्यताहरूको विविधताको सम्मान गरौं, आपसी संवाद र सहकार्यलाई प्रवर्द्धन गरौं, र शान्ति, विकास, समानता तथा स्वतन्त्रता जस्ता मानवताका साझा मूल्यहरूमा आधारित एक समुन्नत विश्व एवं साझा भविष्य निर्माण गर्ने महान् संकल्पमा हातेमालो गरौं।
    धन्यवाद !
    से से !