काठमाडौं, ३२ असार । मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनेगरि गृहकार्य सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको सरकारको नेतृत्व आफ्नै पार्टीले लिनेगरि छलफल थालेका छन् । देउवाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा निरन्तर सम्वाद गरेका छन् ।
पछिल्लोपटक बालुवाटारमा उपेन्द्र यादवसहित भएको तीन दलका शीर्ष नेताहरुको छलफलमा समेत मधेश प्रदेशको नेतृत्वबाट जनमत पार्टीलाई अलग राख्ने विषयमा छलफल भएको बताईन्छ । अहिले जनमतका सतिशकुमार सिंहले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस र एमालेलगायतले साथ दिएका छन् ।
तर, सरकारको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि देउवाले नै अग्रसरता लिएर अब मधेश प्रदेशको सरकारको नेतृत्व आफ्नै दलले लिनेगरि तयारी थालेका हुन् । कांग्रेस, एमाले र जसपा नेपालका शीर्ष नेताहरु आज/भोलिभित्रै पूनः छलफलमा बस्ने भनिएको छ । अब बस्ने बैठकले मधेश प्रदेश सरकार परिवर्तनको खाका र नेतृत्व समेत तय गर्ने बुझिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत यतिवेला रास्वपाको कित्तामा उभिएका छन् ।
उनले रवि लामिछानेमाथि अन्याय र राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाले चलाएको हस्ताक्षर अभियानमा भाग लिएका छन् । राउतको पछिल्लो क्रियाकलापले पनि कांग्रेस र एमाले नेतृत्व चिढिएका छन् । उता, मधेश यतिवेला खानेपानीको अभावमा गुज्रिरहेको छ ।
नेपाली सेना नै पानी वितरणको लागि फिल्डमा खटिएको छ । ट्यांकरको लावालस्कर लागेका छन् । किसानको हालत उस्तै छ । मधेश सरकारले त प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । र, केन्द्र सरकारसँग विशेष राहतको प्याकेजसमेत मागेको छ । file photo




प्रतिक्रिया