‘शेरबहादुरजी बुढो हुनुभयो, पार्टीभित्र उहाँको पकड पनि कमजोर हुँदैछ’ : झलनाथ खनाल (भिडिओ)


काठमाडौं, ३ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेले कार्यगत एकताको लागि प्रस्ताव आजैपनि एकता हुने बताएका छन् । यसमा आफूहरुको कुनै बाधा तथा अवरोध नरहने खनालको भनाई छ । उनले भने,‘कार्यगत एकता हुनसक्छ, तर पार्टी एकता अहिले सम्भव छैन् ।’ उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ऐन, कानून र संविधानले एमालेमा फर्किनको लागि रोक्ने स्थिति नभएको बताए ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘वामदेव गौतम नेपालको कम्युनिष्ट आन्दोलनको एउटा योद्धा हो । नेता हो । उहाँले पनि एकताबद्ध हुन जरुरी छ भनेर महशुस गरेपछि हामीसँग एकता भएको हो । हामीले पनि उहाँलाई पार्टीमा सम्मानपूर्वक स्वागत गरेका छौं । अब देशमा समाजवाद निर्माण गर्नको लागि हामीले उहाँलाई एकताबद्ध गरेका हौं । अब हामी एक दिल र एउटै चित्त लिएर समाजवादी क्रान्ति र रुपान्तरणको लागि अघि बढ्छौं ।’

फरक प्रसंगमा नेता खनालले अहिलेको सरकारले पक्षपाती ढंगले बजेट वितरण गरेको आरोप लगाए । केही नेताहरुको जिल्ला र क्षेत्रमा मात्रै बजेट गएको तर अरु क्षेत्रमा बजेट नगएको विषयमा उनले यस्तो टिप्पणी गरेका हुन् । अहिले विकास नभएको पनि उनको आरोप छ । अहिलेपनि भ्रष्टाचार जारी रहेको र बेरोजगारी बढिरहेको खनालको टिप्पणी छ ।उनले अहिले देश अन्यौलग्रस्त अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे । उनले भने,‘अहिले व्यापक रुपमा भ्रष्टाचार व्याप्त छ, क्याविनेटभित्र, बाहिर । अहिले जहाँसुकै भएको यो भ्रष्टाचारले मान्छे वाक्क, दिक्क भएका छन् । अनि विकास निर्माणको काममा कुनै खास गति छैन ।’

अघिल्लो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीमा पूर्ण बहुमतको पकड भएपनि अहिले अवस्था त्यस्तो नरहेको खनालको आशय थियो । उनले भने,‘शेरबहादुरजी पनि बुढो हुनुभयो, उहाँको क्षमता क्रमिक रुपमा कमजोर हुँदैछ, उहाँको पकड पनि कमजोर हुँदैछ । अनि विकल्प के हुन्छ भनेर पार्टीले त खोज्छ नि। कांग्रेसमा पनि त्यो छ । यो अवस्थामा शेखरजी युवाहरुको भावनालाई पनि प्रतिनिधित्व गर्नसक्ने खालको नेता भन्ने ढंगले बुझेका छन् । उहाँको पक्षमा शक्तिहरु जम्मा हुँदै जानु, उहाँलाई अघि बढाउन कोशिस गर्नु स्वभाविक नै हो ।’ उनले नेपाली कांग्रेसभित्र संसदीय दलमा समिकरण क्रमशः बदलिएको महसुस भएको सुनाए ।