काठमाडौं, ५ साउन । राजनीतिक विश्लेषक डा. अरूण सुवेदीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन परिवर्तन गर्नको लागि भन्दापनि सरकार बनाउँदा गरिएको ७ बुँदे सहमति कार्यान्वयनको लागि प्रभावकारी भूमिका खेल्नुपर्ने भनेर दबाब सिर्जना गरेको बताएका छन् । तर, अहिलेको सत्ता गठबन्धनको विकल्प खोज्नेगरि शेखरले गृहकार्य गरेको भन्ने कुरा आफ्नो जानकारीमा नभएको सुवेदीले स्पष्ट पारे ।
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले आरजु देउवा र जयवीर देउवालाई थुन्न खोजेको भनेर गरेको टिप्पणीलाई ‘बतासे टिप्पणी’ को संज्ञा दिए ।
उनले भने,‘राजनीतिमा यस्तो अप्रमाणित कुरा अएको यो पहिलो बखत होईन, अब डक्टर आरजुको बारेमा पहिलेदेखि यसरी कुराहरु आईराखेका छन्, उहाँबाहेकका मान्छेहरुले पनि यो भनेकै कुरो हो । तर, जब वैधानिक रुपले र आधिकारिक रुपले प्रमाणित भएर कुनै परिणाम आउँदैन, तबसम्म कमसेकम म चाहीँ बतासे टिप्पणीलाई बतासे टिप्पणीकै आधारमा जवाफ दिन्नँ । म त्यो हदसम्म प्रधानमन्त्रीजीलाई शंका गर्दिनँ ।’




प्रतिक्रिया