मंसिरको दोस्रो साताभित्रै नेविसंघको महाधिवेशन गर्ने अध्यक्ष शेर्पाको दाबी


काठमाडौं, ५ साउन । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आगामी मंसिरको दोस्रो साताभित्रै संघको महाधिवेशन सम्पन्न गर्ने दाबी गरेका छन् । आफूहरु अहिले महाधिवेशनकेन्द्रित तयारीमा जुटिसकेको उनको भनाई छ । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नै महाधिवेशनको तयारीमा जुटेको बताए ।

उनले पार्टीको निर्देशनबमोजिम मंसिरको दोस्रो सातासम्म महाधिवेशन भैसक्ने ठोकुवा गरे । उनले भने,‘हामी नेविसंघको महाधिवेशनको तयारीमा जुटेका छौं । पार्टीले पनि मंसिरको दोस्रो साताभित्रै महाधिवेशन सम्पन्न गर्न भनेको छ ।’ नेविसंघ कांग्रेसको संगठनको नर्सरी भएकोले यसको महाधिवेशन सिंगो पार्टी जीवनको लागि पनि उत्सव हुने शेर्पाको भनाई छ ।

आफूहरु स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सकाएर अब संगठनको महाधिवेशनमा केन्द्रित भएको उनको भनाई छ । उनले नेविसंघको महाधिवेशनमा केही ढिलाई हुनुमा पार्टीभित्रको अन्तरसंघर्षलाई प्रदान भनेका छन् । नेविसंघको महाधिवेशन आँफैमा कांग्रेसको मिनि–महाधिवेशनजस्तै भएकोले यसको विशेषता व्यापक रहेको उनले सुनाए ।

अहिले विद्यालय शिक्षा विद्येयक चाँडो पारित गराउनको लागि आफूहरुले दबाब दिएको पनि शेर्पाको भनाई छ । उनले शिक्षक छनोट पद्धतीलाई योग्यतामा आधारित शतप्रतिशत खुला प्रतिष्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागु गर्नुपर्ने आफूहरुको माग रहेको सुनाए । file photo